मनाइयो आद्य शङ्कराचार्य जयन्ती

काठमाडौं । वैदिक सनातन धर्मको पुनःस्थापनामा महत्वपूर्ण योगदान दिनुभएका आद्य शङ्कराचार्यको जन्मजयन्ती विभिन्न कार्यक्रम गरी आज देशभर मनाइएको छ । यस अवसरमा महेश संस्कृत गुरुकुलले जुम प्रविधिबाट आज आयोजना गरेको कार्यक्रममा गुरुकुलका संस्थापक स्वामी डा रामानन्द गिरीका उत्तराधिकारी स्वामी रमणानन्द गिरीले आजभन्दा एक हजार २०० वर्षअघि धर्मको व्याख्या गर्ने कुनै संस्था विश्वमै स्थापना नभएका समयमा भारत वर्षका चार स्थानमा वैदिक सनातन धर्मको संरक्षणका लागि शङ्कराचार्यले मठ स्थापना गरेको सुनाउनुभयो ।
ती संस्था अहिले पनि निरन्तर चलिरहेका छन् । “भगवान् शङ्कराचार्यले पाञ्चायन पूजाको विधि शुरु गर्नुभयो, छ मतलाई एकै स्थानमा स्थापना गरेर एकता कायम गराउनुभयो”, रमणानन्द स्वामीले भन्नुभयो ।
छ वर्षअघिको भूकम्पले भत्किएको पशुपति क्षेत्रस्थित शङ्कराचार्य मन्दिर पुनःनिर्माण सम्पन्न भएको छ । मन्दिर आजै उद्घाटन गर्ने कार्यक्रम राखिएकामा निषेधाज्ञाले पूरा हुन नसकेको जनाइएको छ। कोरोना भाइरसको सङ्क्रमणबाट बच्न जारी निषेधाज्ञाका कारण सार्वजनिक रुपमा कुनै कार्यक्रम नगरिए पनि विभिन्न अन्य मठ, पीठ एवं गुरुकुलमा समेत आद्य शङ्कराचार्यले पु¥याउनुभएको योगदानका विषयमा चर्चा गरिएको छ । दक्षिण भारत मलाबार अञ्चलस्थित केरला प्रान्तको कालडी गाउँमा शक संवत् ६०७ (सन् ६८६) वैशाख १२ गते वैशाख शुक्ल पञ्चमीका दिन पिता शिवगुरु र माता विशिष्टादेवी (माता आर्याम्बा कतै सतीदेवी) का गर्भबाट शङ्कराचार्यको जन्म भएको हो ।
‘शङ्करं शङ्कराचार्यम्’ अर्थात् भगवान् शिव नै लुप्तप्रायः अवस्थामा पुगेको वैदिक सनातन धर्मको पुनरुत्थानका लागि आद्य शङ्कराचार्यका रुपमा जन्म लिनुभएको भन्ने विश्वास छ ।
प्रा डा दीर्घराज घिमिरे कुमारिल भट्टले शुरु गरेको वैदिक सनातन धर्मको पुनःस्थापनामा आद्य शङ्कराचार्यको महत्वपूर्ण योगदान रहेको बताउनुहुन्छ । सोह्र वर्षको मात्र आयु लिएर जन्मनुभएका आद्य शङ्कराचार्यले त्यस अवधिमा १० उपनिषद्, ब्रह्मसूत्र, श्रीमद्भगवद्गीतालगायत ग्रन्थको व्यापक विवेचनसहित भाष्य गर्नुभएको थियो ।
शङ्करले नै अर्को १६ वर्ष आयु थपिदिएपछि उहाँले भाष्य गरिएका ग्रन्थलगायत वैदिक सनातन धर्मका बारेमा भारतवर्षका कुना कुनामा व्याख्या गर्दै हिँड्नुभएको पनि घिमिरेले बताउनुभयो ।
उहाँले स्थापना गर्नुभएका चार मठमा श्रृङ्गेरी, गोवद्र्धन, शारदा र ज्योतिर्मठ छन् । यी मठले क्रमश यजुर्वेद, ऋग्वेद, सामवेद र अथर्ववेदको प्रतिनिधित्व गर्छन् । प्राचीन कालमा सबैतिर फैलिएको वैदिक सनातन धर्म लुप्तप्राय बनेको थियो ।

फेसबुकबाट तपाइको प्रतिक्रिया