काठमाडौँ — अमेरिकाले इजरायललाई ७३५ मिलियन अमेरिकी डलर(करिब ८६ अर्ब नेपाली रुपैयाँ) बराबरको हतियार बेच्ने भएको छ । इजरायल र प्यालेस्टाइनबीच हिंसात्मक संघर्ष जारी रहेका बेला बाइडेन प्रशासनले इजरायललाई ठूलो परिमाणमा हतियार बेच्न लागेको समाचार सार्वजनिक भएको हो ।गाजा क्षेत्रमा द्वन्द्व चर्किरहेको समय भए पनि अमेरिकी संसद्मा उक्त प्रस्ताव पास हुने अपेक्षा गरिएको छ । रोयर्टसले अमेरिकी संसद्को उच्च स्रोतलाई उद्धृत गर्दै मे ५ मा इजरायललाई हतियार बेच्न प्रस्तावबारे सूचित गरिएको बताएको छ । अमेरिकाले इजरायललाई हतियार बेच्ने भन्ने समाचार सबैभन्दा पहिले वासिङ्टन पोस्टले प्रकाशित गरेको हो । औपचारिक रुपमा सूचित गर्नुभन्दा पहिले अप्रिलमै अमेरिकी कंग्रेसलाई इजरायललाई हतियार बेच्ने योजनाबारे जानकारी गराइएको थियो ।
अमेरिकाले इजरायललाई ज्वाइन्ट डिरेक्ट अट्याक म्युनिसन्स(जेडीएमएमए) बिक्री गर्न लागेको पनि रोयटर्स र वासिङ्टन पोस्टले बताएका छन् । उक्त हतियार बोइङले बनाएको हो । जेएडीएम बम फिट गरेर प्रहार गर्न मिल्ने हतियार हो । यसमा २२७ देखि ९०७ किलोसम्म बम फिट गर्न सकिन्छ । इजरायली सेनाले गाजा क्षेत्रमा आक्रमण गर्न यस प्रकारका हतियार ठूलो परिमाणमा किनेको छ ।अहिलेसम्म इजरायललाई हतियार बेच्ने प्रस्तावमा डेमोक्रेटिक र रिपब्लिकन दुवै पार्टीका नेताहरुले कुनै आपत्ति जनाएका छैनन् । अमेरिकी सदनले हतियार बिक्रीको प्रस्तावलाई रोक लगाउन सक्नेछ । तर यस पटक भने रोक लगाउने सम्भावना कम भएको बताइएको छ ।गाजा क्षेत्रमा द्वन्द्व चर्किएको दोस्रो हप्ता सुरु भइसकेको छ, तर तत्काल अन्त्य हुने भने संकेत देखिएको छैन । अहिलेसम्म प्यालेस्टाइनतर्फ ६१ बालबालिकासहित २ सय १२ जनाको मृत्यु भएको छ भने २ बालबालिकासहित १० जना इजरायलीको मृत्यु भएको छ ।यसैबीच अमेरिकी राष्ट्रपति जो बाइडेनले इजरायल र प्यालेस्टाइनलाई संघर्षविराम गर्न आग्रह गरेका छन् । हमास र इजरायली सेनाबीच हिंसात्मक द्वन्द्व चर्किएको ८ दिनपछि बाइडेनले संघर्षविरामका लागि आफूले पहल गरिरहेको बताएका हुन् ।

फेसबुकबाट तपाइको प्रतिक्रिया