काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली आज मन्त्रिपरिषद विस्तार गर्ने तयारी गर्नुभएको छ। जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर र नेता राजेन्द्र महतो पक्ष सरकारमा सहभागी हुने भएपछि उक्त पक्षका नेताहरुलाई मन्त्रिपरिषद्मा ल्याउने तयारी भइरहेको बताइएको छ। प्रधानमन्त्री ओलीले जसपाका ठाकुर–महतो पक्षले उठाउँदै आएका मागहरु सम्बोधन गर्न थालेपछि उक्त पक्ष सरकारमा सहभागी हुन लागेको हो । यसैका लागि सरकारको आइतबार नागरिकतासम्बन्धी अध्यादेश जारी गरिसकेको छ ।नागरिकतासम्बन्धी अध्यादेश आएपछि अब जसपाको ठाकुर पक्ष सरकारमा जान लालायित भएको हो । स्रोतका अनुसार प्रधानमन्त्री ओलीले जसपालाई दश वटा मन्त्रालय दिने सहमति भएको छ ।
तर जसपाकै उपेन्द्र यादव र डा बाबुराम भट्टराई पक्ष पनि ओली सरकारको विरुद्धमा छ । ठाकुर महतो पक्षले ओलीलाई साथ दिए पनि यादव–भट्टराई पक्षले भने विपक्षी गठबन्धनलाई सघाइरहेको छ । वैकल्पिक सरकारको नेतृत्व गर्ने अवसर पाउँदा पनि जसपाभित्रको यो विभाजनका कारण पार्टी एकता नै धरापमा परेको छ ।आइतबार मात्रै यादव–भट्टराई पक्षले ‘प्रतिगमनकारी ओली सरकार’मा आफ्नो पार्टीका कुनै पनि सदस्य सामेल नहुन चेतावनी दिएको छ । यदि सरकारमा सहभागी भएमा पार्टीबाट स्वतः निष्काशित हुने प्रष्ट गरिएको छ । पार्टी विरोधी गतिविधिमा संलग्नताबारे आवश्यक सूचना संकलन गर्ने र यथोचित कारवाही प्रकृया अगाडि बढाउने निर्णय गरिएको छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया