विवादास्पद प्रदेश सञ्चार विधेयक संशोधन गर्न तयार छौं : मुख्यमन्त्री केसी

बुटवल । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री कुलप्रसाद केसीले विवादास्पद प्रदेश सञ्चार विधेयक संशोधन गर्न तयार रहेको बताएका छन् ।

केसी आन्तरिक मामिला तथा कानूनमन्त्री रहेकै समयमा सरकारले प्रदेश सञ्चार विधेयक ल्याएको थियो । तर २८ साउनमा मुख्यमन्त्री भएका केसीले सञ्चार विधेयक विवादित बनेकाले श्रमजीवी पत्रकार र मिडियाको पक्षमा संशोधन गर्ने प्रतिवद्धता जनाए । ‘विवादित मिडिया विधेयक छिट्टै संशोधन हुन्छ,’ प्रेस संगठन नेपालले बिहीबार बुटवलमा गरेको अन्तरक्रियामा मुख्यमन्त्री केसीले भने, ‘सबैको अपनत्व हुने गरी ऐन ल्याउँछौं ।’

मुख्यमन्त्री केसीले सञ्चार माध्यमलाई संरक्षण र पत्रकारको क्षमता बृद्धि गर्ने गरी कार्यक्रम ल्याउने तथा मासिक रुपले पत्रकारसँग अन्तरक्रिया तथा समीक्षा कार्यक्रम गर्ने प्रतिवद्धता जनाए । उनले गठबन्धनमा आवद्ध दलहरुबीच छलफल गरेर साझा प्रतिवद्धताका साथ न्यूनतम कार्यक्रम ल्याउने समेत बताए ।

आर्थिक मामिला तथा योजनामन्त्री कृष्णध्वज खड्काले प्रमुख विपक्षी नेकपा एमालेले दुईजना सांसदको बखेडा झिकेर प्रदेशसभा चल्न नदिएको बताए । ‘एमालेको कारबाही, माओवादी केन्द्र र जसपाको भन्दा भिन्न छ,’ मन्त्री खड्काले भने ।

कार्यक्रममा संविधानसभा सदस्य विनोद पहाडी, अग्रज पत्रकार डा. बालकृष्ण चापागाईं, नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश अध्यक्ष वसन्त गिरी, प्रगतिशील पत्रकार संघका सचिव श्याम पोखरेलले प्रेस स्वतन्त्रताविरोधी सञ्चार विधेयक फिर्ता गरी पुनर्लेखन गर्न माग गरेका थिए । पत्रकारहरुले मिडियामैत्री नीति र कार्यक्रम बनाउन सरकारलाई सुझाव दिएका थिए ।

फेसबुकबाट तपाइको प्रतिक्रिया