हेटौंडा । बागमतीका मुख्यमन्त्री राजेन्द्र पाण्डेले सरकारमा आएलगत्तै सुरुङमार्ग र विद्युतीय बस खरिद प्रक्रिया स्थगित गरेको पूर्वमुख्यमन्त्री डोरमणि पौडेल विरोधमा उत्रिएका छन् ।
पूर्वमुख्यमन्त्री पौडेलले विद्युतीय सवारी खरिद र भीमफेदी–कुलेखानी सुरुङमार्ग निर्माण प्रक्रिया रोक्ने निर्णय राष्ट्रघाती भएको बताएका हुन् । पौडेलले सोमबार विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘विद्युतीय सवारी खरिद र सुरुङमार्ग निर्माण प्रक्रिया रोक्ने, देशलाई गरिब नै बनाइराख्ने सोच र व्यवहारबाट निर्देशित राष्ट्रघाती निर्णय हो ।’
मुख्यमन्त्री पाण्डेले केही दिनअघि स्रोत सुनिश्चितता भइनसकेको भन्दै भीमफेदी-कुलेखानी सुरुङमार्गको प्रक्रिया अगाडि नबढाउन भौतिक पूर्वाधार विकास मन्त्रालयलाई निर्देशन दिएका थिए । उक्त सुरुङमार्ग पौडेल सरकारमा आएपछि गौरवको योजनाका रूपमा अघि सारेका थिए । करिब साढे ३ वर्ष प्रदेश सरकार चलाए थिए ।
तीन वर्षभित्र सुरुङमार्ग निर्माण गरिसक्ने भाषण गरेका पौडेलले डीपीआर मात्रै बनाउन सकेका थिए । प्रदेशको मुख्यमन्त्री बने लगत्तै पौडेलले विद्युतीय सवारी सञ्चालन गर्ने योजना पनि ल्याएका थिए ।
पूर्वमुख्यमन्त्री पौडेलले नवगठित गठबन्धनको सरकारको उक्त निर्णय देशलाई गरिब नै बनाइराख्ने सोच भएको संज्ञा दिएका छन् । विद्युतीय सवारीले इन्धन तथा मोटरपार्ट्समा खर्च हुने अर्बौं रुपैयाँ बचाउने, घण्टौंको यात्रा अवधि तथा दुर्घटनालाई न्यूनीकरण गर्ने प्रदेश सरकार स्थापनादेखिको महत्वको योजना र भीमफेदी–कुलेखानी सुरुङमार्ग निर्माणमा नवगठित सरकारले रोक लगाएको खबरले आफूलाई मर्माहित र आक्रान्त बनाएको उनले बताएका छन् ।
पेट्रोलियम पदार्थको मूल्य वृद्धि हुँदै जाने र देशमै उत्पादन भएको विद्युत उपभोग गर्न नपाएर खेर जाने वर्तमान अवस्थामा कमिसनको खेलमा परेर विद्युतीय सवारी रोक लगाइएको पौडेलले आरोप लगाएका छन् । ‘यस्ता विकास विरोधी निर्णयले देशलाई माया गर्ने तमाम नेपाली नागरिकलाई प्रहार गरेको छ,’ पौडेलद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
पौडेलले सुरुङमार्ग निर्माण र विद्युतीय बस खरिद प्रक्रिया रोकेको विषयमा विरोध जनाउन नागरिकलाई अपिल पनि गरेका छन् । तत्कालीन पौडेल नेतृत्वको सरकारले चालु आर्थिक वर्ष २०७८-०७९ बाट विद्युतीय बस सञ्चालन गर्ने घोषणा गरेका थियो ।

फेसबुकबाट तपाइको प्रतिक्रिया