टोकियो । लमजुङबाट १५ वर्षअघि जापान आएका शिवहरि पौडेलका नेपाली र जापानी गरी ६ वटा रेस्टुरेन्टका मालिक हुन्। उनले सुपरमार्केट, ट्राभल एजेन्सी र रियल-इस्टेट (घरजग्गा) मा पनि लगानी गरेका छन्।
उनले एभरेस्ट ट्रेड लिंक कम्पनी कडा गरेर सुपरमार्केट, रेस्टुरेन्ट र अष्टलक्ष्मी नामक ट्राभल एजेन्सी सञ्चालन गरिरहेका छन्। रियल-इस्टेट मार्फत घरजग्गा खोजिदिने, कोठा भाडामा मिलाइदिने, रेस्टुरेन्ट किनबेच गरिदिने काम गर्छन्।
उनले तीन वर्षअघि टोकियोमा खोलेको ‘रातोमाटो रेस्टुरेन्ट’ निकै प्रसिद्ध छ।
फरक शैलीको रातोमाटोले नेपालीको मात्र होइन, जापानीहरूको पनि मन तानेको उनी बताउँछन्।यो रेस्टुरेन्टको विशेषता भनेको माटोको भाँडामा पकाउने र खुवाउने हो।
‘चियादेखि सबै खानेकुरामा माटोकै भाँडामा पकाएर खान दिइन्छ। ग्राहकलाई नयाँ स्वाद दिन रातोमाटो रेस्टुरेन्ट खोलेको हुँ,’ पौडेलले भने, ‘सय वर्षअघि हामी कस्ता भाँडामा पकाउँथ्यौ, खान्थ्यौं भनेर झल्किने गरी रेस्टुरेन्ट बनाइएको छ। यसको डिजाइन पनि पूरै नेपाली कला र संस्कृतिको झल्को दिने खालको छ।’
यहाँ थकाली सेट खानाका लागि नेपालीहरूको भिड हुन्छ। सँगै जापानीहरूको पनि भिड देखेर खुसी लाग्ने उनले बताए।
उनको रेस्टुरेन्टको अर्को मनपराइएको परिकार मट्का चिया पनि हो।
रेस्टुरेन्टमा मट्का स्टेसन नै छ जहाँ चिया खाएर कपमा नाम वा मनलागेको कुरा लेखेर त्यहीँ सजाएर राख्न पाइन्छ।

फेसबुकबाट तपाइको प्रतिक्रिया