भूमिहीन समस्या समाधान गर्न हिजोकै जस्तै पहलकदमी लिन्छु: महेश बर्तौला

हेटौंडा : मकवानपुरको निर्वाचन क्षेत्र नम्बर २ मा एमाले उम्मेदवार महेश बर्तौलाले जिल्लाका भूमिहीनहरूको समस्या समाधानका लागि आफूले विगतमा जस्तै सशक्त पहलकदमी लिने प्रतिबद्धता व्यक्त गरेका छन् । हेटौंडा उपमहानगरपालिका वडा नम्बर ११, सिमल्टारमा राष्ट्रिय भूमि अधिकार मञ्च, मकवानपुरद्वारा आयोजित छलफल कार्यक्रममा २४ माघमा बोल्दै बर्तौलाले यस्तो बताएका हुन् ।

निवर्तमान सांसद बर्तौलाको सक्रियताका विषयमा जानकारी दिँदै नेकपा एमालेका निर्वाचन फोकल पर्सन आशिष अस्लामीले स्थानीय मिडियालाई बताएअनुसार, बर्तौलाले मुलुकभरका करिब १२ लाख भूमिहीनहरूको समस्या समाधानका लागि संसदमा निरन्तर पैरवी गर्दै आउनुभएको र आगामी दिनमा पनि यसलाई प्राथमिकतामा राख्ने स्पष्ट पारे । “अहिले हाम्रै पहलमा भूमि आयोग निर्माण भएर काम अगाडि बढिरहेको छ, नीतिगत समस्या आए संसदले समाधान गर्नेछ,“ अस्लामीले सांसद बर्तौलाको भनाइ उद्धृत गर्दै जानकारी दिए ।

सोही कार्यक्रममा भूमि समस्या समाधान आयोगका जिल्ला अध्यक्ष बलराम बलले सिमल्टार र आसपासका बस्तीहरू निकुञ्जको बफर जोनका कारण प्रताडित रहेको उल्लेख गरे । अध्यक्ष बलका अनुसार बर्तौलाकै पहलमा निकुञ्ज सम्बन्धी समस्या समाधान गरी धनीपुर्जा वितरण गर्न सरकारमार्फत अध्यादेश ल्याइए पनि राजनीतिक जालझेलका कारण सफल हुन नदिइएको बताए ।
“वडा कार्यालयले ५ सय ५० भन्दा बढी भूमिहीनको निवेदन नगरपालिकामा पठाइसकेको छ । नगरपालिकाबाट निर्णय भएर आयोगमा फाइल आए म कसम खाएर भन्छु— भूमिहीनलाई लालपुर्जा वितरण गरेरै छाड्छु,“ अध्यक्ष बलले भने ।

मनहरी, भीमफेदी र हेटौंडाका सिमल्टार लगायतका क्षेत्रमा रहेका भूमिहीनहरूको समस्यालाई समाधान गर्न राज्यका निकायहरूले समयमै काम गर्नुपर्नेमा सो अवसरमा जोड दिइएको थियो । सुर्य चिन्हका उम्मेदवार बर्तौलाले आजै हेटौंडा–११ को नवलपुर लगायतको क्षेत्र र वडा नम्बर ३ को बसामाडीमा निर्वाचन सम्पर्क कार्यालय स्थापना कार्यक्रममा सहभागीता जनाए । हेटौंडा–३, बसामाडीमा ९३ वर्षीया आमा गोरीमाया लामाको हातबाट कार्यालयको उद्घाटन गरिएको थियो ।

फेसबुकबाट तपाइको प्रतिक्रिया