कांग्रेसको मधेश सभा आगामी फागुन ६ गते जनकपुरधाममा आयोजना हुने

जनकपुरधाम । नेपाली कांग्रेसको मधेश सभा आगामी फागुन ६ गते जनकपुरधाममा आयोजना हुने भएको छ। शनिबार बसेको नेपाली कांग्रेस मधेश प्रदेश कार्यसम्पादन समितिको बैठकले उक्त निर्णय गरेको हो।

पार्टीको मधेश प्रदेश कार्यालय थापा चौक, जनकपुरधाममा सम्पन्न बैठकले जनकपुरधामस्थित तिरुहुतिया गाछीमा मधेश सभा आयोजना गर्ने निर्णय गरेको कांग्रेस मधेश प्रदेश प्रचार–प्रसार विभाग प्रमुख नितेशकुमार गुप्ताले जानकारी दिए ।
बैठकले सभाको प्रचार–प्रसारको जिम्मेवारी नितेशकुमार गुप्तालाई र मञ्च व्यवस्थापनको जिम्मेवारी योगेन्द्र पञ्जियारलाई प्रदान गर्ने निर्णय गरेको छ। साथै सभाको समग्र तयारी, व्यवस्थापन तथा संगठनात्मक पक्षबारे व्यापक छलफल गरिएको जनाइएको छ।

कांग्रेसले मधेश सभालाई प्रभावकारी र भव्य बनाउन मधे मधेश प्रदेशका सबै ३२ निर्वाचन क्षेत्रबाट नेता तथा कार्यकर्ताहरु उतार्ने निर्णयसमेत गरेको छ।
उक्त सभामा नेपाली कांग्रेसका केन्द्रीय सभापति गगनकुमार थापा प्रमुख अतिथिका रूपमा सहभागी हुनेछन्। साथै पार्टीका केन्द्रीय पदाधिकारीहरूको पनि उपस्थिति रहने प्रचार–प्रसार विभाग प्रमुख गुप्ताले बताए।

फेसबुकबाट तपाइको प्रतिक्रिया