निर्वाचन सफल बनाउन दत्तचित्त भएर काम गर्न प्रधानमन्त्रीको निर्देशन

मुस्ताङ । प्रधानमन्त्री सुशीला कार्कीले मुस्ताङको वारागुङ मुक्तिक्षेत्र–१ स्थित पवित्र मुक्तिनाथ मन्दिरको दर्शन गरेकी छिन् । नेपाली सेनाको हेलिकोप्टरबाट शुक्रबार  यहाँ आएकी प्रधानमन्त्री कार्कीले मुक्तिनाथस्थित १०८ धाराको जलसेचन गरी मुक्तिनाथ मन्दिरमा दर्शन गरेकी हुन् ।

मन्दिर दर्शनका लागि जाने क्रममा उनलाई वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाका अध्यक्ष रिनजिन नामगेल गुरुङ, सहायक प्रमुख जिल्ला अधिकारी एकनारायण भण्डारी, मुक्तिनाथ विकास समितिका उपाध्यक्ष रिनजिन नाम्गेल गुरुङ, व्यवस्थापक दिनेश भुसाल र मुक्तिनाथ रानीपौवाका गाउँमुखीलगायतले स्वागत गरेका थिए ।

प्रधानमन्त्री कार्कीले सुरक्षाकर्मी र सहयोगीहरुसँगै करिब २०० मिटरमाथि मन्दिर जाने क्रममा स्वदेशी तथा विदेशी दर्शनार्थी एवं पर्यटकसँग भलाकुसारीसमेत गरेको सहायक प्रमुख जिल्ला अधिकारी भण्डारीले बताए । त्यस क्रममा वारागुङ मुक्तिक्षेत्र गाउँपालिका अध्यक्ष गुरुङ र मुक्तिनाथ विकास समितिका व्यवस्थापक भुसालले प्रधानमन्त्री कार्कीसमक्ष मुक्तिनाथ मन्दिरमा भक्तजनले भोग्नुपरेका समस्याबारे जानकारी गराएका थिए ।

विकास समितिका उपाध्यक्ष गुरुङले मन्दिर क्षेत्रमा आवश्यक पूर्वाधार निर्माण योजनाबारे पुरातत्व विभागमा फाइल पेस भए पनि स्वीकृतिका लागि विलम्ब भइरहेकाले काम गर्न नसकिएको गुनासो गरिएको जानकारी दिए ।

‘मुक्तिनाथ मन्दिरमा दर्शनार्थीमैत्री पूर्वाधारका लागि चेन्जिङ रुम, १०८ धारा पुनर्निर्माण, एनएक्स भवन, आनी आवासलगायत आठवटा योजना पुरातत्वमा फाइल पेस गरेका छौँ । स्वीकृत हुन ढिलाइ भएकाले काम अगाडि बढेको छैन, यस विषयमा प्रधानमन्त्रीको मौखिक ध्यानाकर्षण गराइएको छ’, उनले भने ।

जवाफमा प्रधानमन्त्री कार्कीले यस विषयमा पुरातत्व विभागका महानिर्देशकसँग बुझेर आवश्यक प्रक्रिया अघि बढाउने जानकारी प्राप्त भएको मुक्तिनाथ विकास समितिका व्यवस्थापक भुसालले बताए ।

प्रधानमन्त्री कार्कीले मुक्तिनाथमा करिब एक घण्टा बिताएपछि नेपाल सेनाको हेलिकोप्टरमार्फत जोमसोमस्थित नेपाल सेनाको इन्द्रबक्स गण गएकी थिइन् ।

फेसबुकबाट तपाइको प्रतिक्रिया