जापानमा नवजात शिशुको शव लुकाएको आरोपमा नेपाली विद्यार्थी पक्राउ

टोकियो। जापानको टोकियोमा नवजात शिशुको शव लुकाएर राखेको आरोपमा २३ वर्षीया नेपाली विद्यार्थीलाई पक्राउ गरेको छ। टोकियोको अराकावा प्रहरीका अनुसार, भाषा विद्यालयको होस्टेलमा बस्दै आएकी ती युवतीले आफूले जन्माएको शिशुको शव दराजभित्र लुकाएर राखेकी थिइन्।
पक्राउ परेकी युवती थापा थरकी हुन्, जो विद्यार्थी भिसामा जापानमा बसोबास गर्दै आएकी थिइन्। प्रहरी अनुसन्धानअनुसार, उनले नवजात शिशुको शव कपड़ामा बेरेर प्लास्टिकको झोलामा राखी होस्टेलको दराजमा लुकाएको आरोप लागेको छ।
प्रहरीसँगको बयानमा उनले “मैले जन्माएको बच्चा मरेपछि के गर्ने भन्ने थाहा नभएर दराजमा राखिदिएकी हुँ” भनेकी छन्। मृत शिशु बालिका रहेको र उनको शरीरमा बाहिरी चोटपटकको कुनै स्पष्ट संकेत नदेखिएको प्रहरीले जनाएको छ।
यो घटना अप्रिल ६ देखि ७ तारिखको बीचमा भएको अनुमान गरिएको छ। घटना त्यसबेला बाहिर आएको हो जब अप्रिल ७ मा सँगै बस्ने अर्की महिलाले ती युवतीलाई बच्चा जन्माएपछि रक्ताम्मे अवस्थामा देखेकी थिइन्। त्यसपछि तुरुन्तै एम्बुलेन्स टोलीलाई खबर गरिएको थियो, र उनीहरूले नै प्रहरीको आपतकालीन नम्बर ११० मा जानकारी गराएका थिए।
प्रहरीले हाल शिशुको मृत्युको कारणबारे विस्तृत अनुसन्धान गरिरहेको जनाएको छ।
स्रोत: क्योदो न्यूज

फेसबुकबाट तपाइको प्रतिक्रिया