काठमाडौं । नेपाली कांग्रेसले सांसद विकास कोष र पूर्वपदाधिकारीको सुविधा कटौती गरेर कोरोना भाइरस रोकथाम तथा नियन्त्रणमा लगाउन माग गरेका छन् ।
बिहीबार विज्ञप्ति जारी गरी कांग्रेसका १० नेताले संकटको समयमा खर्च कटौतीका लागि सांसद विकास कोषको रकम कोरोना रोकथाम तथा नियन्त्रणमा लगाउन र पूर्वपदाधिकारीले पाउने सुविधा र सुरक्षा कटौती गरेर जनताको हितमा लगाउन माग गरेका हुन् ।
संघीय सरकारले प्रतिनिधिसभा निर्वाचन क्षेत्रका लागि स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रममार्फत् छ करोड रुपैयाँ दिने गरको छ भने प्रदेशहरुमा पनि सासदहरुले खर्च गर्न पाउने गरी निर्वाचन क्षेत्रमा रकम दिने गरिएको छ ।
कांग्रेस नेताहरुले सुरक्षाकर्मीको तब कटाउँदा उनीहरु निरुत्साहित हुनेभन्दै त्यस्तो नगर्न पनि सरकारलाई सचेत गराएका छन् । नेताहरु डा. चन्द्र भण्डारी, धनराज गुरुङ, कमला पन्त, रत्ना शेरचन, गुरुराज घिमिरे, गगन थापा, बद्री पाण्डे, जीवन परियार, प्रदीप पौडेल, रामकृष्ण यादव, कल्याण गुरुङ र किरण यादवले विज्ञप्ति जारी गरी कोरोना परीक्षणको गति बढाउन आग्रह गरेका हुन् ।
‘यस्तो गतिमा गरिने परीक्षणले भाइरस संक्रमित व्यक्तिको तीब्रगतिमा पहिचान हुन सक्दैन। तसर्थ, सरकारले परीक्षणको दायरा र गति बढाउनु पर्छ। यसका लागि परीक्षण केन्द्रहरू अविलम्ब थपिनु पर्छ’ विज्ञप्तिमा भनिएको छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया