काठमाडौं । होटल ब्यवसायीले कोरोना भाइरस (कोभिड-१९)को महामारीका कारण नेपालमा ११ लाख मानिसको रोजगारी संकटमा परेको बताएका छन् ।
उनीहरुले कोभिड १९ का कारण होटल ब्यवसाय सबैभन्दा बढी समस्यामा परे पनि सरकारले आफूहरुको समस्या सम्बोधन गर्न नसकेको गुनासो गरेका छन् ।
खर्बौं लगानी रहेको होटल क्षेत्र बन्द भई धरासायी हुने निश्चितप्रायः रहेको अवस्थामा अझै पनि सरकारबाट उचित सम्बोधन हुन नसकेको होटेल संघ नेपालले उल्लेख गरेको छ ।
वर्तमान जटिल र भयावह अवस्थामा राज्यबाट उपलब्ध गराइने भनिएका राहत तथा सेवा सुविधा पर्यटनमैत्री नरहेको भन्दै हानले यसबाट होटेल व्यवसायी निराश भएको उल्लेख गरेको छ ।
वर्षेनी करोडौं राजस्व तथा विदेशी मुद्रा आर्जनको प्रमुख स्रोत र कूल गार्हस्थ उत्पादनमा समेत कम्तीमा पनि ८ प्रतिशतको योगदान गरिरहेको यस क्षेत्रलाई उपेक्षा नगर्न व्यवसायीले सरकारको ध्यानाकर्षण गराएका छन् । होटल क्षेत्र धरासायी हुदा करीव ११ लाख मानिसको प्रत्यक्ष रोेजिरोटी गुम्नेतर्फ पनि उनीहरुले सचेत गराएका हुन् ।

फेसबुकबाट तपाइको प्रतिक्रिया