कास्की । गण्डकी प्रदेशमा विदेशबाट आएका चार हजार १४६ जनाको कोरोनाभाइरस कोभिड–१९ परीक्षण गरिने भएको छ । विश्वभर महामारीको रुपमा फैलिरहेको कोभिड–१९ को सम्भावित सङ्क्रमण फैलावट रोक्न विदेशबाट प्रदेश भित्रिएका सबैको र्यापिड डाइगोनिष्टक टेष्ट गर्न लागिएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
नेपालमा अहिलेसम्म कोरोना सङ्क्रमित फेला परेका नौ जनामध्ये आठ जना विदेशबाट आएका रहेकाले चैत महिनायता विदेशबाट फर्किएकाको कोभिड–१९ को सङ्क्रमण अवस्था जान्नका लागि सबैको परीक्षण गर्न लागिएको हो । गण्डकीमा हालसम्म दुई जनामा कोरोना देखिएको छ । विदेशबाट आएका बाग्लुङकी १९ वर्षीया युवती र अर्की एक ६५ वर्षीया महिलामा कोरोना सङ्क्रमण देखिएपछि उनीहरुको आइसोलेशनमा राखेर उपचार भइरहेको छ । स्वास्थ्य निर्देशनालयका निर्देशक डा.विनोदविन्दु शर्माले सङ्घीय सरकारबाट प्रदेश सरकारलाई कोरोना परीक्षणका लागि पाँच हजार थान आरडिटी किट प्राप्त भएको र त्यसबाट विदेशबाट आएका सबैको परीक्षण गर्न लागिएको बताए ।
“गण्डकी प्रदेशभित्र रहेका स्वास्थ्य कार्यालयबाट प्राप्त तथ्याङ्कअनुसार चैत ४ गते यता भारतलगायत विदेशबाट आएका नागरिकको सङ्ख्या चार हजार १४६ रहेको छ । यी सबैको आरडीटी किट्सद्वारा परीक्षण गरिने छ”, निर्देशक शर्माले भने । बाग्लुङबाट परीक्षण सुरुवात भएको र सबै जिल्लामा परीक्षण गरिने बताइन्छ । द्रुत परीक्षणका लागि निर्देशनालयबाट प्रदेशमा दुई टोली बनाएर शुक्रबारदेखि तोकिएको क्षेत्रमा परिचालन गरिएको बताइन्छ ।
गोर्खा, नवलपुर, तनहुँ र लमजुङमा एक टोली र म्याग्दी, बाग्लुङ, पर्वत, स्याङ्जाका लागि अर्को टोली परिचालन भएको र जिल्लामा प्राविधिकलाई आवश्यक तालीम दिएर प्रत्येक जिल्लामा परीक्षणको काम हुने जनाएको छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया