प्रसव पीडामा रहेकी मुगुकी एक महिलालाई हेलिकप्टरबाट उद्धार

सुर्खेत । सुत्केरी हुन नसकी प्रसव पीडामा रहेकी मुगुकी एक महिलालाई हेलिकप्टरबाट उद्धार गरी उपचारका लागि सुर्खेत ल्याइएको छ ।

हेपाटाईटिस बि पोजेटिभ देखिएकी सोरु गाउँपालिका–१ की ममता लावडलाई मुगु जिल्ला अस्पतालमा अप्रेशन हुन नसकेपछि शुक्रबार अपरान्ह उपचारका लागि सुर्खेतस्थित कर्णाली प्रादेशिक अस्पताल ल्याइएको हो । जिल्ला अस्पतालमा उपचार हुन नसक्ने जानकारी मुगुका प्रमुख जिल्ला अधिकारी कृष्णकुमार निरौलाले गराएलगत्तै महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङको निर्देशनमा तत्काल ती गर्भवतीको निःशुल्क हवाई उद्धार गरिएको हो ।
सुत्केरी हुन दिइएको समय १४ दिन कटेको र उनको रगतमा हेपाटाईटिस बि पोजेटिभ देखिएकाले उपचारका लागि प्रादेशिक अस्पताल पठाउनु परेको जिल्ला अस्पतालका चिकित्सक डा निर्मल नगरकोटीले जानकारी दिए । लकडाउनले मुलुक ठप्प भइरहेका बेला पनि मन्त्री गुरुङको निर्देशनमा यसअघि खोटाङ र सोलुखुम्बुका १-१ जना गर्भवतीको हेलिकप्टरबाट काठमाडौंमा हवाई उद्धार गरी उपचारको व्यवस्था गरिएको थियो भने डोल्पा र मुगुका पनि १-१ जना गर्भवतीको हवाई उद्धार गरी प्रादेशिक अस्पताल सुर्खेतमा उपचारको व्यवस्था मिलाइएको छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय अन्तर्गतको राष्ट्रपति महिला उत्थान कार्यक्रमले दुर्गमका ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरीहरुको उद्धार गर्दै आएको छ ।

यो कार्यक्रम अन्तरगत हालसम्म ९६ जना ज्यान जोखिममा परेका गर्भवती तथा सुत्करी महिलाहरुको निःशुल्क हवाई उद्धार गरि सकिएको राष्ट्रपति महिला उत्थान कार्यक्रमको तथ्यांकमा उल्लेख गरिएको छ

फेसबुकबाट तपाइको प्रतिक्रिया