काठमाडौं । विश्वभर फैलिएको कोरोना भाइरस कोभिड–१९ बाट शनिबार साँझसम्म २८ जना गैरआवासीय नेपालीको मृत्यु भएको छ ।
एनआरएनका अध्यक्ष कुमार पन्तको अध्यक्षतामा गठित कोभिड –१९ उच्चस्तरीय समिति, स्वास्थ्य उपसमितिले संकलन गरेको तथ्यांकअनुसार बेलायतमा १७, अमेरिकामा ८, संयुक्त अरब इमिरेट्समा दुई र आयरल्याण्डमा एक जनाको निधन भएको हो ।
स्वास्थ्य उपसमितिका संयोजक डा.सञ्जीव सापकोटाका अनुसार, नेपालबाहेक विश्वभर १ हजार १६६ गैरआवासीय नेपाली अहिले कोरोनाबाट संक्रमित छन् । विश्वभर छरिएका गैरआवासीय नेपाली विज्ञ चिकित्सको समूहले तयार पारेको सो आकडानुसार २१ देशमा रहेका नेपाली कोभिड –१९ बाट संक्रमित रहेको एनआरएन, कोभिड– १९, उच्चस्तरीय समितिका प्रेस संयोजक चिरन शर्माले जानकारी दिए । नेपालमा भने १९ हजार ५५४ जनामा परीक्षण गरिएकामा ३१ जनामा कोरोना संक्रमण देखिएको छ भने दुई जना कोरोनामुक्त भई घर फर्किसकेका छन् । संक्रमित हुने विदेशमा बसेका नेपालीमा अमेरिकामा करिब सात सय, बेलायतमा दुई सय, संयुक्त युएईमा ७१, आयरल्याण्ड र पोर्तुगलमा २२–२२, कुवेतमा २१, अष्ट्रेलियामा ११, स्पेनमा १०, स्विट्जरल्याण्डमा पाँच, जर्मनी, बेल्जियम र साउदी अरबमा चारचार, क्यानडा र मलेसियामा तीनतीन, माल्टा,जापानमा दुई तथा फ्रान्स, म्यान्मा र हङकङमा एकएक जना रहेको उपसमितिले जनाएको छ ।
विदेशमा कोरोना भाइरसबाट मृत्यु भएकाहरुको परिवारको सहयोगार्थ एनआरएनले आफ्ना शाखाहरुलाई परिचालन गरेको जनाइएको छ । एनआरएनका अध्यक्ष कुमार पन्तका १० हजारभन्दा बढी कोरोना पीडितका लागि राहत वितरण गरिएको जनाएको छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया