पार्टी एकतामा आघात पुग्ने काम नगर्न वरिष्ठ नेता नेपालको आग्रह

 काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी एकतामा आघात पुग्ने काम नगर्न आग्रह गरेका छन् ।

विकसित कतिपय घटनाक्रमले पार्टीभित्र अनेकौं आशंका र चिन्ता उत्पन्न भएको भन्दै उनले पार्टी पंक्तिलाई भावनात्मक रुपले एकतावद्ध बनाउन जिम्मेवारीका साथ अघि बढ्नुपर्ने र पार्टीलाई विधिका आधारमा सहमति, समझदारी र विश्वासका साथ अघि बढाउन आआफ्नो ठाउँबाट योगदान गर्न आह्वान गरेका छन् ।

नेपाल कम्युनिस्ट पार्टीको ७१ औं स्थापना दिवसको अवसर पारेर उनले जारी गरेको वक्तव्यमा भनिएको छ, ‘व्यक्तिवाद, संकीर्ण स्वार्थ, व्यक्तिगत आग्रह वा अहमबाट वा कुनै प्रकारको आक्रोश, भावावेश वा अनावश्यक आशंका र अविश्वासबाट प्रेरित वा प्रभावित नभई पार्टी एकताको मर्म, भावना र उद्देश्यलाई दह्रोसँग पक्रिएर अघि बढ्नु हामी सबैको दायित्व हो ।

सरकारले ल्याएको अध्यादेशलाई उल्लेख नै नगरी उनले पार्टी र सरकार कोरोना महामारीमा केन्द्रित हुनुपर्नेमा जोड दिएका छन् ।

फेसबुकबाट तपाइको प्रतिक्रिया