पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले लकडाउन खुकुलो बनाउने प्रस्ताव अघि सारेका छन् । उनले कोरोना सम्बन्धी उच्चस्तरीय समन्वय समितिका संयोजक उपप्रधानमन्त्री ईश्वर पोखरेललाई टेलिफोन गरेर लकडाउनको नयाँ मोडल बनाउन प्रस्ताव गरेका हुन् ।
बागलुङकी कोरोना संक्रमित मनकुमारी पौडेल र अंशु सापकोटा निको भएर घर फर्किएपछि गण्डकी प्रदेश ‘ग्रिन जोन’मा परेको मुख्यमन्त्री गुरुङको दाबी छ । उनकाअनुसार गण्डकी प्रदेशमा अहिलेसम्म ४ हजार ७०४ जनाको र्यापिड टेष्ट भइसकेको छ । विदेशबाट फर्किएका सबैजसोको पीसीआर टेस्ट गर्नुपर्ने भएपनि किट अभावले गर्न नसकिएको उनको भनाइ थियो । लकडाउन लम्बिने तर त्यसको मोडल मात्र फरक हुने मुख्यमन्त्री गुरुङले बताए । उनले उपप्रधानमन्त्री तथा उच्चस्तरीय समितिका संयोजक पोखरेललाई फोन गरेर आवागमन बन्द गर्ने तर उत्पादन र निर्माण कार्यलाई खुला गर्ने प्रस्ताव गरेका छन् । ‘सिंगो मुलुकमा के गर्नुहुन्छ, त्यो तपाईंको कुरा हो । तर गण्डकी प्रदेशमा मैले एक हप्ता अगाडि नै कार्यविधि बनाइसकेको छु,’ मुख्यमन्त्री गुरुङले पोखरेललाई भनेका छन्, ‘आवागमनमा लकडाउन गरौं, तर उत्पादन र निर्माणमा नगरौं ।’
आचारसंहिता परिपालना गर्दै निर्माण मजदुरलाई काम लगाउँछौं,’ मुख्यमन्त्री गुरुङले भने, ‘निर्माण सामाग्रीको आयात तथा व्यवस्थापन कसरी गर्ने भन्ने पनि हामीले कार्यविधि बनाएको छौं ।’ भारतबाट आउने सबै मालबाहक गाडीलाई मुख्य नाकामा सेनिटाइज गरी निर्माण सामाग्री स्थलसम्म आइपुग्दा हरियो स्टिकर टाँसेर ल्याउने व्यवस्था गर्ने बताए । ‘खाद्यान्नसँग सम्बन्धित उद्योगहरु पनि खोल्नुपर्यो,’ मुख्यमन्त्री गुरुङले भने, ‘विकास निर्माणसम्बन्धी मात्र होइन, खाद्यान्नको कच्चा पदार्थ इन्डियाबाटै आउँदो रहेछ । संक्रमणको जोखिम नियन्त्रण गरेर सामाग्री ल्याउनुपर्छ । मुख्य नाकाको कुरा यो संघीय सरकारले गरिदिनुपर्ने छ ।
गण्डकी प्रदेशका मुख्यमन्त्री गुरुङले राहत वितरणमा कमजोरी भएको स्वीकार गरेका छन् । भूकम्प आउँदा जस्तो नहोस् है भनेर ८३ वटै स्थानीय तहलाई फोन गरेको र वास्तविक पीडित नछुटुन् भनेर भनेको उनले सुनाए ।

फेसबुकबाट तपाइको प्रतिक्रिया