काठमाडौँ । नेपाली काँग्रेसले विश्वभर कोरोना भाइरसको सङ्क्रमण फैलिएको परिस्थितिमा नेपाल सरकारले मुलुकभित्रका र मुलुक बाहिर रहेका सबै नेपालीलाई कोरोनाबाट जोगाउन क्षमता अभिवृद्धि गरी महामारीविरुद्ध लड्नुपर्ने र अभिभावकत्व प्रदान गर्नुपर्ने जनाएको छ ।
काँग्रेसले स्वदेशमा रहेका नेपालीका साथै विदेशमा रहेका करिब ५० लाख नेपालीको फरक–फरक स्थितिको सूचना विश्लेषण र आवश्यक कदमबारे छलफल गरी विदेशमा अप्ठ्यारोमा परेका नेपालीलाई पनि राहत, उपचार र उद्धारमा तदारुकता बढाउन जरुरी रहेको उल्लेख गरेको हो । पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले आज एक वक्तव्यमार्फत विदेशमा रहेका नेपालीबारे काँग्रेसका तर्फबाट नेपाल सरकारसमक्ष प्रधानमन्त्री एवं पराराष्ट्र मन्त्रीको तहमा पटकपटक सम्पर्क, संवाद, आवश्यक आग्रह, ध्यानाकर्षण एवं माग प्रस्तुत गरिएको उल्लेख गर्नुभएको छ । हालसम्म विश्वभर करिब एक हजार २०० भन्दाबढी नेपाली कोरोनाबाट सङ्क्रमित भएका र करिब ५० नेपालीको मृत्यु भइसकेको उल्लेख गर्दै उहाँले नेपालीलाई सङ्क्रमणबाट जोगाउने र सङ्क्रमित भएकाको उपचारमा ढिलाइ हुन नदिन सङ्गठित पहल जरुरी रहेको बताउनुभएको छ । काँग्रेसले सम्बन्धित देशमा रहेका नेपाली समुदायलाई थप प्रेरित र सङ्गठित गर्न जरुरी रहेको उल्लेख गर्दै नेपाल सरकारले थप कूटनीतिक एवं व्यवस्थापकीय पहल गर्नुपर्ने जनाएको छ । “रोजगारी गुमाएका या रोजगारी खतरामा परेका विदेशका नेपालीबारे नेपाल सरकारले यथाशीघ्र ठोस दृष्टिकोण निर्माण गरेर अभिभावकत्व ग्रहण र कार्यान्वयन गर्न जरुरी छ”, विज्ञप्तिमा उल्लेख छ । केही मुलुकले विदेशी श्रमिक फर्काउने घोषणा गरिसकेका सन्दर्भमा त्यस्ता देशमा रहेका नेपालीका सम्बन्धमा नेपालले आफ्नो धारणा बनाई उद्धार र तत्पश्चात्को आवश्यक बन्दोबस्तमा लाग्नुपर्ने काँग्रेसको सुझाव छ ।
प्रवक्ता शर्माले कोरोनाका कारण विदेशमा अप्ठ्यारोमा परेर स्वदेश फर्कन चाहेका या फर्काउनुपर्ने स्थिति बनेका नेपालीका सम्बन्धमा आवश्यक कदम चाल्न सरकारले तत्कालै अध्ययन र उद्धार कार्यदल निर्माण गरी हरसम्भव व्यावहारिक प्रक्रियाको थालनी गर्नुपर्ने बताउनुभएको छ ।
यसैगरी महाकाली पारी धार्चुलामा रहेका नेपाली नागरिक तथा भारतका विभिन्न शहरबाट आएर नेपालको सीमा नाकामा अलपत्र परेका नेपालीलाई व्यवस्थितरुपले प्रवेश गराएर तीनै तहका सरकारको आपसी समन्वयमा क्वारेन्टाइनमा राख्नुपर्ने सरकारको कर्तव्य भएको काँग्रेसले जनाएको छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया