नेकपाको सचिवालय बैठक : बामदेव गौतमलाई प्रतिनिधिसभामा लैजाने निर्णय

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी नेकपाको सचिवालय बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले आत्मालोचना गरेका छन् । शनिबार साझँ प्रधानमन्त्री  निवास बालुवाटारमा बसेको बैठकमा प्रधानमन्त्री ओलीले सरकार र पार्टी सञ्चालनमा भएको कमीकमजोरीप्रति आत्मालोचना गरेका हुन् ।

साथै उपाध्यक्ष बामदेव गौतमलाई उपयुक्त समयमा प्रतिनिधिसभा सदस्य बनाउने निर्णय भएको छ । नेकपाका उपाध्यक्ष गौतमलाई कोरोना महामारी सकिएपछि प्रधानमन्त्री र वरिष्ठ नेता माधवकुमार नेपाललाई तेस्रो अध्यक्ष बनाउने प्रस्ताव राखेपछि नेकपा सचिवालयको पहिलो बैठक बसेको थियो । ‘पार्टीलाई एकतावद्ध राख्ने, पार्टीलाई विधि पद्धती र कम्युनिस्ट मूल्य मान्यताअनुसार सञ्चालन गर्ने,पार्टीको मार्गनिर्देशनमा सरकार सञ्चालन गर्ने र सरकारले देश र जनताको पक्षमा समाजवाद उन्मुख सामाजिक आर्थिक रुपान्तरणको लक्ष्य हासिल गर्ने गरी काम गर्ने दिशामा दृढतापूर्वक अगाडि बढ्ने निर्णय लिएको प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रकाशले जानकारी दिनुभयो ।

अर्का अध्यक्ष पुष्पकमदल दाहाल प्रचण्ड र अरु नेताहरुले पनि आत्मालोचित भएर अगाडि बढ्ने नेकपाको निर्णय छ । नेकपा सचिवालयको बैठकले उपाध्यक्ष बामदेव गौतमलाई प्रतिनिधिसभा सदस्य बनाउने निर्णय समेत गरेको छ । उपयुक्त समयमा प्रतिनिधिसभा सदस्य बनाउने भनिएको छ । पार्टी नेताले जितेको कुनै एक सिट खाली गराएर उपचुनाव गराउने नेकपाको तयारी छ ।

बैठकले पार्टीलाई फुट उन्मुख गराउने कुनै पनि क्रियाकलापमा सहभागी नहुन नेता कार्यकर्तालाई निर्देशन समेत दिएको छ भने २५ गते स्थायी कमिटीको बैठक बोलाएको छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया