गोरखा । बारपाक सुलिकोट गाउँपालिकाले स्थापना गरेको कोरना संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बारपाक सुलिकोट गाउँपालिका पार्टी कमिटीले रु. ७५,००० नगद सहयोग प्रदान गरेको छ ।
आइतबार गाउँपालिका पार्टी अध्यक्ष नरबहादुर गुरुङको नेतृत्वमा गण्डकी प्रदेश कमिटी सदस्य भगवती तिवारी, जिल्ला सदस्यहरु धामी बराम र मोहन ढकाल, जिल्ला सल्लाहकार कृष्ण अँगाई, गाउँपालिका सदस्यहरु जित नेपाली, राजकुमार गुरुङ, नारायण श्रेष्ठ लगायतको प्रतिनिधि टोलीले गाउँपालिकाको कार्यालयमा अध्यक्ष बिष्णु प्रसाद भट्टलाई उक्त सहयोग रकम प्रदान गरिएको हो । यसक्रममा गाउँपालिका उपाध्यक्ष सनमाया गुरुङ, प्रमुख कार्यकारी अधिकृत गौतम भण्डारी लगायतको उपस्थित रहेको थियो ।
गाउँपालिकाका पार्टी सदस्य एवं शुभचिन्तकहरुबाट संकलित रकम मध्ये पहिलो चरणमा सो रकम प्रदान गरिएको र सहयोग अभियान जारी राखेकोले अर्को चरणमा पुन: सहयोग गरिने अध्यक्ष गुरुङले जानकारी दिनुभयो । यसक्रममा सहयोग रकम ग्रहण गर्नुहुदै गाउँपालिका अध्यक्ष भट्टले जनताको सहयोग रकमलाई पारदर्शी ढंगबाट कोभिड-१९ रोकथाम, नियन्त्रण तथा उपचारको लागि खर्च गरिने प्रतिबद्धता ब्यक्त गर्नुभयो । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बारपाक सुलिकोट गाउँपालिका पार्टी कमिटीले विश्वभरी महामारीको रुपमा फैलिएको कोरना भाइरस (कोभिड-१९) रोकथामको लागि विगत १ महिनादेखि सहयोग अभियान संचालन गर्दै आएको छ । टोल-टोलमा गएर कोरोना संक्रमण हुन नदिनको लागि सचेतना गराउने, गाउँपालिकाभित्र प्रवेश गर्ने नाकाहरुको निगरानी गर्ने र शंकास्पद नयाँ मानिसहरुको आगमन देखिएमा आवश्यक सुझाव सहित सुरक्षित बसाईको लागि पहल गर्ने, गाउँपालिका बाहिर वा भित्र समस्याग्रस्त रुपमा रहेका गाउँपालिकाबासीलाई आवश्यक सहयोग, उचित राहत तथा व्यवस्थापनको लागि सम्वन्धित निकायहरुमा पहल गर्ने जस्ता कार्यहरु गर्दै पार्टीले कोभिड-१९ रोकथामको लागि सहयोग अभियान कार्यदल नै गठन गरी काठमाडौं सम्पर्क र टोलसम्मको कमिटीलाई परिचालन गरिएको छ । यसरी कोरना संक्रमण रोकथाम र नियन्त्रणको लागि गाउँपालिकाले गरेका सबै क्रियाकलापहरुमा सहयोग गर्न सिंगो पार्टी पङ्ति नै जुटेकोले कोेरोना पूर्ण रुपमा अन्त्य नहुदासम्म यो सहयोग अभियान संचालन गरिने अध्यक्ष गुरुङले जानकारी दिनुभयो ।
अध्यक्ष गुरुङले उक्त अभियानमा सक्दो साथ र सहयोग गर्नुहुन पार्टी पङ्तीलगायत सम्पूर्ण जनसमुदायलाई आव्हान गर्दै अभियानमा अहोरात खटिनुहुने पार्टीका विभिन्न तहका नेता-कार्यकर्ता तथा सहयोगदाताहरुप्रति आभार समेत प्रकट गर्नुभयो ।

फेसबुकबाट तपाइको प्रतिक्रिया