ओली-प्रचण्ड भेटवार्ता : सहमतिको प्रस्ताव तयार गर्ने जिम्मा प्रचण्ड र पौडेललाई

काठमाडौं । नेकपाको स्थायी कमिटी बैठकमा छलफलका लागि लैजाने प्रस्ताव तयार पार्ने जिम्मेवारी कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र महासचिव विष्णु पौडेलले पाएका छन् । सोमबार बालुवाटारमा अध्यक्ष केपी शर्मा ओली र प्रचण्डबीच भएको छलफलपछि कार्यकारी अध्यक्ष र महासचिवले प्रस्ताव तयार पार्ने भएका हुन् ।

अब अध्यक्ष र महासचिवले शनिबार बसेको सचिवालय बैठकको सहमति र भावनाअनुसार प्रस्ताव तयार पार्ने छन् ।बालुवाटारमा सोमबार भएको दुई अध्यक्षवीचको भेटमा गत मंसिर ४ गतेको सहमतिमै फर्किने गरी त्यसको व्यवहारिक कार्यान्वयनको मोडालिटीसमेत तयार भएको स्रोतले जनायो । मंसिर ४ गतेको निर्णयमा प्रधानमन्त्री केपी ओलीले पूरै कार्यकाल सरकारको नेतृत्व गर्ने र अध्यक्ष प्रचण्डले कार्यकारी अध्यक्षको हैसियतमा पार्टी काम सञ्चालन गर्ने भनिएको थियो ।  सो निर्णयमा पार्टीका बैठकको अध्यक्षता ओली र प्रचण्डले संयुक्त रुपमा गर्ने तर आमरुपमा बैठकको अध्यक्षता प्रचण्डले गर्ने भनिएको थियो । सो निर्णयपछि एउटा स्थायी कमिटी बैठक प्रचण्डले सञ्चालन गरे पनि केन्द्रीय कमिटी र सचिवालय बैठकहरु संयुक्त अध्यक्षतामै सञ्चालन भएका छन् ।

नेकपाले स्थायी कमिटी बैठक वैशाख २५ गते बोलाएको छ । स्थायी कमिटीअघि २४ गते बस्ने सचिवालय बैठकमा अध्यक्ष र महासचिवले तयार पारेको प्रस्तावमाथि छलफल हुनेछ । स्थायी कमिटी बैठकमा सचिवालयबाट सहमतिको प्रस्ताव जाने नेकपा स्रोतले जनाएको छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया