काठमाडौं । भारतले नेपाली भूभाग लिपुलेक हुँदै मानसरोबर जाने सडकको उदघाटन गरेकोमा नेपाल सरकारले आपत्ति जनाएको छ । भारतको यस्तो कदमले नेपाललाई दुःखित तुल्याएको परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले बताएका छन् ।
शनिबार परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गर्दै नेपाली भूभागमा सडक उदघाटन गरिएकोमा आपत्ति जनाएको हो । लिम्पियाधुरा, कालापानी र लिपु लेकसहित काली महाकाली नदीको पूर्व क्षेत्र नेपाली भूभाग हो भन्ने कुरा नेपाल सरकारले विगत देखि नै पटक(पटक दोहोर्याउँदै आएको परराष्ट्रको विज्ञप्तिमा उल्लेख छ । पछिल्लो समयमा पनि यो कुरा नेपाल सरकारले धेरै पटक दोहोर्याएको र भारत सरकारलाई सम्बोधन गरिएको र भारतले जारी गरेको नक्शाका सम्बन्धमा कूटनीतिक नोटसमेत पठाइएको परराष्ट्रको विज्ञप्तिमा स्मरण गरिएको छ । भारतले लिपलेक हुँदै मान सरोबर जाने सडकको उदघाटन गरेपछि नेपालमा त्यसको व्यापक विरोध भइरहेको छ । प्राय सबै दल र संघ संगठनहरुले भारतीय कदमको विरोध गरेका छन् । भारतको यो कदमबारे नेपाल सरकारले आफ्नो धारणा सार्वजनिक गर्नुपर्ने माग भइरहेका बेला परराष्ट्र मन्त्रालयले शनिबार विज्ञप्ति जारी गरेको हो ।
परराष्ट्रमन्त्री ज्ञवालीले भने, ‘अहिले जुन कदम चालियो, त्यसले हामीलाई दुःखी तुल्याएको छ । यससम्बन्धी सरकारको आधिकारिक धारणा भर्खरै सार्वजनिक गरेका छौं । महाकालीपूर्वका लिम्पियाधुरा, कालापानी र लिपुलेकलाई भारतले आफ्नो नक्शामा पारेलगत्तै नेपाललाई आपत्ति जनाएर कूटनीतिक माध्यमबाट समस्याको समाधानको पहल गरिरहेको मन्त्री ज्ञवालीले स्मरण गरे ।

फेसबुकबाट तपाइको प्रतिक्रिया