जापान र हङकङ भिसा भएकालाई फर्किन दिने सरकारको निर्णय

काठमाडौं । कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि बनाइएको उच्चस्तरीय समन्वय समितिले जापान र हङकङ भिसा भएकालाई फर्किन दिने निर्णय गरेको छ ।

जापान र हङकङमा बस्दै आएका तर लक डाउनका कारण नेपालमै रहेका नागरिकहरुलाई चार्टड फ्लाइट मार्फत पठाउने निर्णय पनि गरेको समितिका प्रवक्ता एवं प्रधानमन्त्री कार्यालयका सचिव नारायणप्रसाद विडारीले जानकारी दिए । जापान र हङकङ जानका लागि नेपालमै रोकिएका ६ सय र हङकङको आइडी प्राप्त नागरिकलाई स्वास्थ्य परीक्षण, अध्यागमन प्रकृया पुरा गरी पठाउने निर्णय भएको उनले जानकारी दिए ।

अहिलेको अवस्था र लक डाउनको मोडालिटी परिवर्तन गरी कसरी जनजीवन सहज बनाउन सकिन्छ भन्ने विषयमा विज्ञहरुसँग छलफल भएको हो । छलफलमा विज्ञहरुले परीक्षण, कन्ट्रयाक्ट ट्रेसिङको दायरा बढाउनुपर्ने, क्वारेन्टाइनको व्यवस्थापन राम्रोसँग गर्नुपर्ने सुझाव दिएका छन् । आत्तिनुपर्ने अवस्थामा नभएपनि सचेत हुनुपर्ने, विदेशबाट आउनेहरुको सवालमा सम्बन्धित स्थानीय तहहरुमा क्वारेन्टाइनको उचित व्यवस्थान गरी ल्याउनुपर्ने सुझाव पनि दिइएको नेपाल चिकित्सक संघका अध्यक्ष डा.लोचन कार्कीले जानकारी दिए ।

चिकित्सा क्षेत्रका विज्ञहरुले सरकारलाई वैज्ञानिक ढंगबाट निर्णय गर्न र सम्बन्धित क्षेत्रका व्यक्तिहरुसँग पनि सल्लाह गर्न सुझाव दिएका छन् ।

फेसबुकबाट तपाइको प्रतिक्रिया