एमसीसी सम्झौता संसदबाट तत्काल अनुमोदन गर्न कांग्रेस माग

काठमाडौं । नेपाली कांग्रेसले सरकारद्वारा प्रस्तुत वार्षिक नीति तथा कार्यक्रम पुनर्लेखन गर्न माग गरेको छ । कांग्रेसले शनिबार यसबारे संसद सचिवालयलमा संशोधन प्रस्तावसमेत दर्ता गराएको छ ।

सरकारले कोरोना महामारीबाट उत्पन्न संकटलाई सम्वोधन नगरी पट्यारलाग्दो नीति तथा कार्यक्रम ल्याएको भन्दै नेपाली कांग्रेसले बुँदा नम्बर १ देखि २७६ सम्म पुनर्लेखन गर्नुपर्ने माग गरेको छ । संशोधन प्रस्तावमा संशोधनकर्ताका तर्फबाट डा। मिनेन्द्र रिजाल, पुष्पा भुसाल र सञ्जयकुमार गौतमले हस्ताक्षर गरेका छन् ।

शुक्रबार राष्ट्रपतिले संसदमा प्रस्तुत गरेको सरकारको वार्षिक नीति तथा कार्यक्रमले कोरोनाको महामारीलाई सम्बोधन गर्न नसक्ने, विदेशमा रोजगारी गुमाएका नेपालीहरुलाई जोखिमबाट सुरक्षित गराउन नसक्ने र देशका सामु उत्पन्न चुनौतीको समामना गर्न नसक्ने भन्दै यसको पुनर्लेखन गरिनुपर्ने कांग्रेसको माग छ । यसैबीच शनिबार नयाँ बानेश्वरस्थित संदस भवनको ल्होत्से हलमा नेपाली कांग्रेस संसदीय दलको बैठक बसेको छ । बैठकमा बोल्दै कांग्रेस सभापति शेरबहादुर देउवाले सीमाना अलपत्र परेका नेपालीलाई क्वारेन्टाइनमा बस्ने प्रवन्ध मिलाउन र विदेशमा रहेका नेपालीहरुलाई स्वदेश र्फकने वातावरण बनाउन सरकारसँग माग छन् ।

बैठकमा बोल्ने अधिकांश कांग्रेस सांसदहरुले सरकारको नीति तथा कार्यक्रममा रहेका कमजोरीबारे औंल्याएका छन् । प्रतिपक्षी दलका नेता शेरबहादुर देउवाले अमेरिकी मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) सम्झौता संसदबाट ततकाल अनुमोदन हुनुपर्ने बताएका छन् ।

सरकारले संसदमा प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथि आइतबारदेखि छलफल हुँदैछ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया