कोरोनाबाट मृत्यु भएकी महिलाको परिवारको पिसिआर रिपोर्ट नेगेटिभ

सिन्धुपाल्चोक । कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएकी सिन्धुपाल्चोककी महिलाका परिवारका ५ जनाकै रिपोर्ट नेगेटिभ आएको छ । धुलिखेल अस्पतालका प्रवक्ता डा सुमनराज ताम्राकारले परिवारका पाँचैजनाको कोरोना रिपोर्ट नेगेटिभ आएको जानकारी दिए ।

मृतक महिलाका नवजात शिशु, महिलाका श्रीमान, आमा, बहिनी र भाइको कोरोना परीक्षण नेगेटिभ आएको अस्पतालले जनाएको छ । त्रिवि शिक्षण अस्पतालमा वैशाख २४ गते सुत्केरी भएकी बाह्रबिसे ९ राम्चेकी २९ वर्षीया महिलाको गएको बिहीबार कोरोना भाइसको संक्रमणबाट मृत्यु भएको थियो । महिलाको मृत्यु भएपछि महिलाको घर रहेकोे जिल्लाको बाह्रबिसे नगरपालिका वडा नं ९ राम्चे गाउँबाट परिक्षणका लागि ५५ जनाको थ्रोट स्वाब संकलन गरिएको छ, स्वाब संकलन आज पनि जारी छ । संकलीत स्वाबको परिक्षण रिपोर्ट पछि महिलाबाट परिवार, आफन्त र समुदायमा कोरोना सरे नसरेको थाहा पत्ता लाग्नेछ । कोरोना भाइरसको कारण आफ्नै गृह जिल्लामा सुत्केरी महिलाको मृत्यु भएपछि सभामुख अग्नि सापकोटाले घटनालाई विशेष चासो दिएर स्वास्थ्य र सुरक्षाका लागि पहल गरेका छन् ।

आइतबार स्वास्थ्य मन्त्रालय, बाग्मती प्रदेशको सामाजिक विकास मन्त्रालय र जिल्ला जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकका संयुक्त स्वास्थ्य टोलीले गाउँमा स्वाब संकलन गरेको हो ।

फेसबुकबाट तपाइको प्रतिक्रिया