बाँकेको नरैनापुर क्षेत्रमा थप ४७ जनामा कोरोना संक्रमण

काठमाडौं । कोरोना संक्रमणबाट युवकको निधन भएको बाँकेको नरैनापुर क्षेत्रमा थप ४७ जनामा कोरोना संक्रमण भएको पाइएको छ ।

नरैनापुर क्षेत्रका २७३ को स्वाब संकलन गरि भेरी अस्पतालमा ल्याइएको थियो । जसमध्ये १९२ को परिक्षण गर्दा ४६ पुरुष र एक महिलामा कोरोना भेटिएको अस्पताल स्रोतले जनाएको छ । बाँकी ८१ जनाको स्वाब परिक्षण हुनेक्रममा रहेको भेरी अस्पताल स्रोतले जनाएको छ । कोरोनाबाट निधन भएको युवकको सम्पर्कमा आएका र थप अन्य कोरोना संक्रमित व्यक्तिहरुको सम्पर्कमा आएका व्यक्तिहरुको स्वाब संकलन गरि परिक्षण भएको थियो । एक व्यक्तिको निधनसँगै कोरोना संक्रमितहरुको संख्या बढ्दै जाँदा नरैनापुरलाई हटस्पट घोषित गरि थप सतर्कता अपनाउन स्थानियहरुले माग गर्न थालेका छन् । सो क्षेत्रमा प्रसासन र सुरक्षा निकायले उच्च सतर्कता अपनाइ नेपाल प्रहरी र सशस्त्र प्रहरी सो क्षेत्रमा व्यापक मात्रामा परिचालन गरिएको छ।

यसअघी नरैनापुरका ८ जना कोरोना संक्रमितहरुलाई शुक्रवार दाङको बेलझुण्डीस्थित कोरोना विशेष आइसोलेसन अस्पतालमा लगिएको नरैनापुर गाउँपालिका अध्यक्ष इस्तियाक अहमद शाहले जानकारी दिए । नरैनापुर गाउँपालिका वडा नं ५ मटेहियास्थित नयाँबस्तीका २५ वर्षीय युवाको आइतबार बिहान निधन भएको थियो ।  भारतको महाराष्ट्र मुम्बइबाट गत वैशाख ३० गते बाँके आएलगत्तै सो गाउँपालिका वडा नं ५ मटेहियाको भगवानपुरस्थित दीपेन्द्र प्राविमा रहेको क्वारेन्टाइनमा बस्दै आएका युवाको आइतबार बिहान दुई पटक बान्ता गरेको केही समयपछि मृत्यु भएको जनाइएको छ ।

मृतक युवासहित भारतबाट नेपाल प्रवेश गरेका व्यक्तिको पिसिआर परीक्षण गर्दा यसअघि यहाँका आठ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

फेसबुकबाट तपाइको प्रतिक्रिया