जापान । प्रवासी नेपाली एकता मञ्ज जापानले नेपाल सरकारले हालै सार्वजनिक गरेको नेपालको नयाँ नक्सालाई स्वागतयोग्य भनेको छ । बिहीबार मञ्चका अध्यक्ष हवलचन्द्र लामा र सचिव शालिकराम भण्डारीले संयुक्त रुपमा एक विज्ञप्ति जारी गर्दै नेपाल सरकारले भारतद्वारा अतिक्रमित लिम्पियाधुरा, लिपुलेक, कालापानी लगायतका भूभागहरु समेटिएको नक्सा सार्वजनिक गरेको र गुमेका ती भूभागहरु कुटनैतिक माध्यमबाट फिर्ता ल्याएरै छोड्न गरेको प्रतिवद्धतालाई मञ्चले स्वागत गरेको बताएका छन् ।
राष्ट्रियता जस्तो संवेदनशी विषयमा नेपाल सरकारले गरेको निर्णयलाई बुद्धिमत्तापूर्ण ढंगले कार्यान्वयनको तहमा उतार्न देशका सबै राजनैतिक दल,सामाजिक संस्था, राष्ट्रसेवक, निजी क्षेत्र, आमनागरिक एकढिक्का भई चट्ठानी अडानका साथ अगाडि बढ्नुको विकल्प नभएको बताउँदै मञ्चले भूभाग फिर्ता लिएरै छोड्ने निर्णयका लागि नेपाल कम्युनिष्ट पार्टी र सरकारलाई धन्यावद ज्ञापन गरेको छ । मञ्चले नेपाल र भारत एक-अर्काका असल छिमेकी राष्ट्र रहेको उल्लेख गर्दै नेपालले छिमेकीको अहित हुने र सार्वभौमसत्तामा आँच आउने कुनै पनि क्रियाकलापबारे सोच्न पनि नसक्ने र भारतबाट पनि नेपालले सोही बमोजिक अपेक्षा गरेको हुने बताएको छ । मञ्चले दुई देशबीच रहिआएको सदियौंदेखिको असल सम्बन्धलाई थप उचाइमा पुर्याउन सुझबुझपूर्ण पहलद्वारा विद्यमान सीमा विवाद र अतिक्रमित भूमि सम्बन्धी समस्या हल गर्न सरकारलाई सफलता मिलोस् भन्ने शुभकामना समेत व्यक्त गरेको छ । साथै मञ्चले विश्वव्यापी रुपमा फैलिएको महामारी कोभिड-१९ सँग जुधिरहेका बेला नेपाली जनताको भावनामा ठेस पुग्ने गरी छिमेकी राष्ट्रले अतिक्रमित भूमि प्रयोग गरी विस्तारित सडक सञ्जालको उद्घाटन गरेपछि नेपाली जनता चिन्तित हुन स्वभाविक रहेको बताउँदै सरकारले ऐतिहासिक तथ्य, प्रमाण र दस्तावेजका आधारमा नक्सा मात्रै नभएर यथाशक्य चाँडो अतिक्रमित भूमि पनि फिर्ता लिनेमा मञ्च विश्वस्त रहेको बताएको छ ।
सरकारको जायज कदमप्रति ऐक्यबद्धता जाहेर गर्दै परिआएमा जस्तोसुकै सहयोगी भूमिका खेल्न तयार रहेको मञ्चको जनाएको छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया