समस्यामा परेका नेपालीलाई स्वदेश फर्काउन एनआरएनएले सहजीकरण गर्ने

जापान ।  सरकारले भारतबाहेक तेस्रो मुलुकमा समस्यामा परेका नेपालीलाई स्वदेश फर्काउने निर्णय गरेको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए)को प्रयास तथा नेपाल सरकारसंग संघले विभिन्न चरणमा गरेका वार्ता र छलफल पश्च्यात सरकारले विदेशमा अप्ठ्यारोमा परेका नेपालीहरुलाई स्वेदश ल्याउने निर्णयमा पुगेको एनआरएनएका अध्यक्ष कुमार पन्तले जनाए ।

पन्तले सरकारको निर्णयको स्वागत गर्दे प्रभावकारी कार्यान्वयनका लागि अनुरोध गरेका छन् । उनले अप्ठ्यारोमा परेका नेपालीहरुलाई सुरक्षीत रुपमा नेपाल फर्काउन एनआरएनए सहजीकरणका लागि तत्पर रहेको बताए । उपप्रधानमन्त्री ईश्वर पोखरेल नेतृत्वको उच्चस्तरीय समन्वय समितिले प्राथमिकता तोकेर विदेशमा रहेका नागरिकलाई स्वदेश फर्काउने निर्णय गरेको हो । कोभिड–१९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले शुक्रवार बसेको बैठकले दश दिनपछि दैनिक ३ हजारदेखि ३ हजार ५ सय सम्म नेपालीहरूलाई स्वदेश ल्याउन सकिने निष्कर्ष निकालेको थियो । उच्चस्तरिय समितिको निर्णयलाई बमोजिम मन्त्री परिषदले अनुमोदन गरे पछि उद्धारको कार्य सुरु हुने भएको छ । यसै बीच संघका अध्यक्ष कुमार पन्तले राष्ट्रिय समितिहरुलाई एक पत्र जारी गर्दै केहि दिन धैर्य गर्न आग्रह गरेका छन् । उनले विदेशमा रहेका नेपालीहरु माझ कोरोना रोकथाम तथा राहत वितरण कार्यमा सहकार्य र सहयोग गर्ने सम्पूर्ण व्यक्ति, संघसंस्था तथा राष्ट्रहरुलाई धन्यवाद व्यक्त गरेका छन् । परराष्ट्र मन्त्रालयले तयार पारेको सूची अनुसार क्रमशः उनीहरुलाई स्वदेश फर्काउने कार्ययोजना छ र तेस्रो मुलुकबाट नागरिक ल्याउने काम एक सातापछि शुरु हुने अनुमान छ । नेपालमा भएका सबै सरकारी र निजी कम्पनीका जहाज उडाउने सरकारको तयारी रहेको छ ।

नेपाल फर्किन चाहनेहरूले जहाजको भाडा भने आफैं तिर्नुपर्नेछ । यसअघि एनआरएनए अमेरिका, युके, कतार, युएई लगायतका देशले नेपाल फर्किन चाहने नेपालीहरुको नाम संकलन गरेका थिए ।

फेसबुकबाट तपाइको प्रतिक्रिया