काठमाडौं । अर्थमन्त्री युवराज खतिवडाबाट संघीय संसदका बिहिवार प्रस्तुत भएको बजेटप्रति शिक्षा मन्त्री गिरिराजमणी पोख्रेलले असन्तुष्टी जनाएका छन् । मन्त्री पोख्रेलले आज एक प्रेस विज्ञप्ति जारी गर्दै निजी क्षेत्रले सामाजिक उत्तरदायित्व निर्वाह गर्ने क्रममा सार्वजनिक विद्यालयले आवश्यक ठहर गरेका विषयमा सहयोग गर्ने सम्मका दायित्व र भूमिका निर्वाह गर्नु उचित हुने बताएका छन् ।
उनले सो प्रयोजनका लागि सरकारले एक मापदण्ड तयार गरी निजी क्षेत्रको साझेदारीमा सार्वजनिक विद्यालयको सुदृढीकरणको लागि आवश्यक कोष स्थापना गर्ने विकल्पमा जान उपयुक्त हुने उनको धारणा रहेको छ । ‘बजेटको बुँदा नम्बर १६६ मा उल्लेखित व्यवस्था शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबाट प्रस्ताव नगरिएको भएता पनि सार्वजनिक विद्यालयको सवलीकरण र सुदृढीकरणका लागि गैर सरकारी क्षेत्र, विकास साझेदारहरूको सहयोग तथा योगदानलाई पुरक कार्यक्रमको रूपमा विद्यालय व्यवस्थापन र स्वामित्व यथावत रहनेगरी कोष परिचालन गरिने छ ।’ उनले यसमा पुनर्विचार गर्न पनि आग्रह गरेका छन् ।
मन्त्री पोख्रेलले बजेटमा परेका कतिपय बुँदाहरूको सम्बन्धमा सरोकारवालाहरूले उठाएका सवालमा आफ्नो गम्भीर ध्यानाकर्षण भएको पनि बताएका छन् ।

फेसबुकबाट तपाइको प्रतिक्रिया