काठमाडौँ । विदेशबाट उद्धार गरेर ल्याइने नागरिकलाई राख्न उपत्यकामा सात ‘होल्डिङ सेन्टर’ तयार गरिएका छन् । दुई भने जगेडामा राखिएका छन् । विदेशबाट आएर सम्बन्धित जिल्लाको क्वारेन्टिन वा सेल्फ क्वारेन्टिनमा नजाँदासम्म बस्ने स्थान होल्डिङ सेन्टर झण्डै तीन हजार क्षमताको बनाइएको छ । सरकारले कोभिड–१९ को विश्वव्यापी सङ्क्रमणका कारण उत्पन्न असहज अवस्थामा स्वदेश आउनैपर्ने परिस्थितिमा रहेका नेपाली शुक्रबारदेखि नेपाल फर्काउँदैछ ।
काठमाडौँमा तीन, ललितपुरमा दुई र भक्तपुरमा दुई सेन्टर निर्माण गरिएको छ । काठमाडौँ र ललितपुरमा दुई होल्डिङ सेन्टर आवश्यक पर्दा प्रयोग गर्ने गरी जगेडामा तयारी अवस्थामा राखिएको छ । काठमाडौँ र भक्तपुरमा एक, एक हजार क्षमताका बनाइएको छ भने ललितपुरमा ९०० क्षमताका छन् । सबै होल्डिङ सेन्टरको व्यवस्थापनको जिम्मेवारी भने नेपाली सेनालाई दिइएको छ । नेपाली सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले सेन्टरको आवश्यक तयारी पुरा भइसकेको जानकारी दिनुभयो । अन्य निकायको सहयोगमा सेनाले विमानस्थलबाट आएदेखि होल्डिङसेन्टरमा राख्ने र सम्बन्धित प्रदेशमा नबुझाउँदासम्मको प्रक्रिया, सुरक्षा तथा अन्य व्यवस्थापनको काममा सेनाको महत्वपूर्ण भूमिका रहने उहाँले जानकारी दिनुभयो । सरकारले काठमाडौँको यति पार्टी प्यालेस बसुन्धरा, स्काईजन पार्टी प्यालेस सुकेधारा र कुण्डलिनी पार्टी प्यालेस बसुन्धारामा होल्डिङ सेन्टर तयार पारेको छ । जगेडाका रुपमा मिराकल पार्टी प्यालेस सुकेधारालाई तयारी अवस्थामा राखिएको छ । काठमाडौँमा रहेको होल्डिङ सेन्टरमा बाग्मती प्रदेश, गण्डकी प्रदेश र प्रदेश नं ५ का नागरिकलाई छुट्टाछुट्टै रुपमा राखिनेछ ।
भक्तपुरमा एक हजार क्षमताका दुई पार्टी प्यालेसलाई होल्डिङ सेन्टर बनाइएको छ । जसमा सूर्यविनायक नगरपालिका–५ कटुञ्जेस्थित इम्पेरियर बैंक्वेट र मध्यपुरथिमि नगरपालिका–४ स्थित हेरिटेज बैंक्वेट रहेको प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले जानकारी दिनुभयो । यहाँ प्रदेश नं १ र २ का नागरिकलाई छुट्टाछुट्टै रुपमा राखिने छ । प्रजिअ पाण्डेले भक्तपुरमा फोटोसहितको फर्म भर्ने व्यवस्था मिलाइएको तथा राति बस्नुपर्ने अबस्था हुन सक्ने भएकाले आवश्यक बेडको समेत व्यवस्थापन गरिएको राससलाई जानकारी दिनुभयो । ललितपुरमा ९०० जनाका लागि डिलाईट पार्टी भेन्यू महाक्ष्मीस्थान र मण्डला पार्टी भेन्यू खरिबोट ग्वार्कोमा होल्डिङ सेन्टर बनाइएको छ । यहाँ जगेडाका रुपमा सिद्धार्थ कलेज धोवीघाट तयार पारिएको छ । ललितपुरका प्रमुख जिल्ला आिधकारी नारायणप्रसाद भट्टले यहाँको होल्डिङस्थलमा आएका नागरिकलाई सरल र सुरक्षित रुपमा व्यवस्थापन गरेर सम्बन्धित क्षेत्रमा पु¥याउने विषयमा आवश्यक तयारीको काम पूरा गरिएको जानकारी दिनुभयो । यहाँको खाने बस्ने व्यवस्थापन भने सरकारले गर्नेछ ।
सबै होल्डिङ सेन्टरको अन्तर्राष्ट्रिय मापदण्डअनुसार वैज्ञानिक रुपमा व्यवस्थापन गरिएको छ । अभिलेख राख्नेदेखि स्वास्थ्य जाँच गर्ने, विश्राम गर्ने स्थानको समेत आवश्यक व्यवस्थापन गरिएको छ । सेन्टरमा विशेषज्ञ चिकित्सकसहिको टोली रहनेछ । विदेशमा रहेका नेपाली मध्ये पहिलो चरणमा शुक्रबार संयुक्त अरब इमिरेट्स ९युएई० को सारजहाबाट १५० जनाभन्दा बढी नेपाली स्वदेश फर्कने निश्चित भएको छ । श्रम करारका साथै प्रवेशाज्ञाको अवधि समाप्त भएका, रोजगारी गुमाएका, विद्यार्थी, छोटो अवधिका लागि भ्रमणमा गएका व्यक्ति, तालिम तथा सेमिनारमा भाग लिन गएका कर्मचारी, आफन्तको मृत्यु भई काजकिरिया गर्न आउनुपर्ने व्यक्ति तथा उपचारका लागि गएका बिरामीको आगमनलाई प्राथमिकतामा राखिएको छ ।
त्यसैगरी आममाफी पाएर नेपाल आउन नपाएका, विभिन्न भिसामा गएका र नेपाल आउन नपाएका, कोरोनाबाहेक अन्य कारणले अस्वस्थ रहेका, सुत्केरी तथा गर्भवती, बालबालिका, ज्येष्ठ नागरिक र अपाङ्गता भएकालाई पनि स्वदेश फर्काउने प्राथमिकताको सूचीमा समावेश गरिएको छ । ४० हजार हाराहारीका नागरिकले स्वदेश आउन चाहना राखेका छन् ।

फेसबुकबाट तपाइको प्रतिक्रिया