पार्टी पुनः फुटाउनेसम्मको धम्की दिन थालेपछि बाबुराम ब्याक

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) निर्वाचन आयोगमा दल दर्ताका लागि पाएको समयको अन्तिम दिन आइतबार मात्रै पार्टी पदाधिकारीको बारेमा सहमति जुटेपछि दल दर्ता भएको छ । दल दर्ता भएपछि जसपाका वरिष्ठ नेता राजेन्द्र महतोले दुई अध्यक्ष र तीन जना वरिष्ठ नेताको नाम राखेर ५३ सदस्य कार्यकारी समितिको तर्फबाट दल दर्ता भएको बताए ।

उनले जसपाको कार्यकारी अध्यक्षमा महन्थ ठाकुर र उपेन्द्र यादव रहने सहमति भएको र वरिष्ठ नेतामा डा। बाबुराम भट्टराई, अशोक राई र राजेन्द्र महतोको नाउँमा सहमति जुटेको बताए । बाँकीको जिम्मेवारी दल दर्ताको प्रक्रिया पुरा भएपछि तोकिने उनले बताए । उनले जसपामा राजनीतिक समितिमा १ सय ५१ सदस्य र केन्द्रीय समितिमा ७ सय १ जना रहने सहमति भएको र यसको पूर्णता पनि दल दर्ताको प्रक्रियाको क्रममा नै हुने बताए । समाजवादी पार्टी नेपाल र राष्ट्रिय जनता पार्टी नेपालबीच मिलेर बनेको सो पार्टी दर्ता गर्ने बेलामा नाटकीय मोड लिएको छ ।  महन्थ ठाकुर र उपेन्द्र यादव केन्द्रीय कार्यसमिति अध्यक्ष बनेका छन् । यसअघि बरियतामा अगाडि रहेका डा.बाबुराम भट्टराईको वरियता घटाइएको छ । भट्टराईभन्दा अगाडि वरिष्ठ नेताको पहिलो सूचिमा अशोक राईलाई राखिएको छ । भट्टराईलाई दोस्रो तथा समग्रमा चौथो वरियतामा राखिएको छ । राजेन्द्र महतो भने पाँचौ नम्बरमा छन् ।  निर्वाचन आयोगमा दल दर्ता गर्न लैजादा भट्टराईको नाम दोस्रो वरियतामा रहेको र संघीय परिषद्को अध्यक्ष बनाइएको थियो । जुन सेरोमोनियल जस्तै हो । तर, दर्ता गर्ने बेला भट्टराईको नाम काटेर वरिष्ठ नेताको लाइनमा राईभन्दा तल कलमले लेखिएको छ । ठाकुर र यादव अध्यक्ष रहने गरी आइतबार समाजवादी पार्टी नेपाल र राष्ट्रिय जनता पार्टी नेपालबीच एकता भई बनेको जनता समाजवादी निर्वाचन आयोगमा दर्ता भएको हो । जनता समाजवादी पार्टीको दर्ता नम्बर १३९२ भएको छ ।  पार्टीमा बरियताका बारेमा चरम विवाद भएपछि अन्तिममा बाबुरामले पार्टी फुट हुनबाट जोगाउनका लागि बरिष्ठ नेतामै चित्त बुझाएको एक नेताले बताए ।

कम्प्युटर टाइप गरेर निर्वाचन आयोगमा दर्ताका लागि लैजाँदै गर्दा समेत नेताहरुले पार्टी पुनः फुटाउनेसम्मको धम्की दिन थालेपछि बाबुराम ब्याक भएको स्रोतको भनाइ छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया