नेपाल-भारत सीमा क्षेत्रमा झडप,एक भारतीय नागरिकको मृत्यु

जनकपुरधाम । नेपाल-भारत सीमा क्षेत्रमा नेपाली सुरक्षाकर्मी र भारतीय नागरिकबीच शुक्रबार भएको झडपमा गोली लागेर एकजनाको मृत्यु भएको छ । दुईजना घाइते भएका छन् । सर्लाहीको नारायणपुरस्थित नेपाल-भारत सीमा क्षेत्रमा झडप हुदा एक जना भारतीय नागरिकको मृत्यु भएको हो । लकडाउन कार्यान्वयनका लागि सरकारले नेपाल-भारत सीमा क्षेत्रमा सशस्त्र प्रहरीलाई खटाएको छ । सर्लाहीको पर्सा गाउँपालिकास्थित नारायणपुरमा पनि सशस्त्र प्रहरीको फरवार्ड बेसमा त्यहाँ ९ जनाको टोली खटाइएको छ । शुक्रबार बिहान ९ बजेतिर ३ जना भारतीय नागरिक नेपालतर्फ प्रवेश गरेका थिए । सशस्त्र प्रहरीले रोक्दा एक जनाले थप्पड हिर्काएर भारततर्फ गएको सशस्त्र प्रहरीका एआईजीपी नारायणबाबु थापा बताउँछन् । उक्त क्षेत्रमा ठूलो संख्यामा मानिसहरु आएर ढुंगामुढा गरेका थिए ।

उनीहरुले हतियार खोस्ने प्रयास गरेका छन् । एआईजीपी थापा भन्छन्, ‘हाम्रा सुरक्षाकर्मीहरुले १० राउण्ड हवाई फायर गरे । बलजफ्ती नेपाल प्रवेश गर्ने खोज्दा रोकेपछि ढुंगामुडा गर्न नछाडेपछि हतियारको सुरक्षा र आत्मरक्षाका लागि गोली चलाउनुपरेको हो । सशस्त्र प्रहरीले ५ राउण्ड गोली चलाएको थियो । गोली लागेर एक जना मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । झडपमा सशस्त्र प्रहरीका तीन जना पनि गम्भीर घाइते भएका छन् । उनीहरुको जिल्लामै उपचार भइरहेको सर्लाहीका सशस्त्र प्रहरी उपरीक्षक गंगाराम श्रेष्ठले बताए । घटना दुःखद भएको एआईजीपी थापाले बताए । ‘उनीहरु बलजफ्ती प्रवेश गर्न नखोजेको भए यस्तो घट्ना हुँदैनथ्यो’ उनले भने, ‘अहिले स्थिति सामान्य बन्दैछ ।
नारायणपुरमा थप सुरक्षाकर्मी पठाइएको छ भने दुबै देशका सुरक्षा अधिकारीहरुबीच सम्वाद चलिरहेको छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया