काठमाडौं । भारतले वर्षौंदेखि हडपेका लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र समेटिएको नयाँ नक्सालाई प्रतिनिधिसभाले सर्वसम्मत पारित गरेको छ ।
संविधानको अनुसूचीमा रहेको निसान छापभित्रको नक्सा सच्याउन सरकारले पेस गरेको संशोधन विधेयकलाई प्रतिनिधिसभाको दुई तिहाइ बढी मतले शनिबार पारित गरेको हो। यससँगै नेपालको बुच्चे नक्साले चुच्चे आकार लिने संवैधानिक र कानुनी मान्यता पाएको छ। प्रतिनिधिसभामा उपस्थित सबै सांसदले नयाँ नक्साको पक्षमा मत दिएका थिए।
पारित विधेयकलाई राष्ट्रियसभामा पठाइनेछ ।
राष्ट्रियसभाले भने सर्वसाधारणलाई जानकारीका लागि सूचना प्रकाशन नगरी सोझै सैद्धान्तिक छलफल गरी विधेयक पारित गर्ने प्रक्रिया अघि बढाउन सक्छ। दुवै सदनबाट पारित भएको विधेयक लालमोहरका लागि राष्ट्रपतिसमक्ष पठाउनुपर्ने संवैधानिक व्यवस्था छ । तत्पश्चात सरकारी निकायमा आधिकारिक रुपमा निशान छापको प्रयोग गरिनेछ।

फेसबुकबाट तपाइको प्रतिक्रिया