कोरोना नियन्त्रण गर्न सरकार अहोरात्र खटिएको छ : मुख्यमन्त्री भट्ट

बाजुरा : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले सरकार कोभिड–१९ को नियन्त्रण तथा रोकथामका लागि अहोरात्र खटिइरहेको बताउनुभयो । रासससँगको संवादमा मुख्यमन्त्री भट्टले कोरोना रोग नियन्त्रणका लागि प्रदेश सरकार आफ्नो सबै तह र तप्काबाट खटिइरहेको जानकारी दिनुभयो ।

मन्त्री भट्टले भन्नुभयो, “कोरोना नियन्त्रण तथा रोकथामका लागि प्रदेश सरकार सबै तह र तप्काबाट लागिपरेको छ, यो साझा अभियान हो, सबैले जुट्नु जरुरी छ । कोरोना महामारीले सम्पन्न विश्वलाई नै सन्त्रासमा पारेका बेला हाम्रो जस्तो अल्पविकसित मुलुकको साधन स्रोतले भ्याएसम्म प्रदेश सरकार अटिइरहेको बताउनुहुँदै मुख्यमन्त्री भट्टले सङ्कटका बेला पक्ष विपक्षभन्दा पनि सबैले आ­आफ्नो जिम्मेवारी बोध गरी रोग नियन्त्रणमा लाग्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “अन्य मुलुकभन्दा नेपालमा कोरोनाले कम क्षति भएको छ, अहिले आपसी विवाद गरेर लड्ने बेला होइन, हामीले कोरोनाविरुद्ध लड्नु छ ।” सुदूरपश्चिम प्रदेश कोभिड–१९ को उच्च जोखिम भएकाले सरकारले तीब्र गतिमा काम अगाडि बढाइरहेको उल्लेख गर्नुहुँदै उहाँले प्रदेश सरकारले थप पिसिआर मेसिन खरिद प्रक्रिया अगाडि बढाएको तथा क्वारेन्टिन पनि व्यवस्थित बनाउन प्रतिबद्ध रहेको जानकारीसमेत दिनुभयो ।

संवादकै क्रममा मन्त्री भट्टले प्रदेश सरकार कोरोना नियन्त्रणमा खटिइरहेका बेला अनावश्यक बखेडा निकालेर आन्दालन गर्नुको कुनै अर्थ नरहेकोसमेत उहाँले बताउनुभयो । “कोरोनाविरुद्ध सिङगो सुदूरपश्चिम सरकार लडिरहेका बेला कामै भएन, सरकार सुतेर बसेको छ भन्ने जस्ता लालछना लगाउनु गलत हो ।”, उहाँले भन्नुभयो । मुलुक रोग र भोकबाट फसिरहेका बेला अनावश्यक बखेडा झिकेर आन्दोलन नगर्न तथा नगराउन उहाँले आन्दोलनरत पार्टीलाई आग्रहसमेत गर्नुभयो ।@RSS

फेसबुकबाट तपाइको प्रतिक्रिया