काठमाडौं । विद्यालय बन्द भएको अवस्थामा सरकारले वैकल्पिक सिकाइ सुरु गरेको छ । तर सिकाइमा लाखौ बालबालिकाको जिम्मा लिने विद्यालय नहुँदा समस्या भएको छ ।
प्रारम्भिक बाल कक्षा नभएका अधिकांश विद्यालयका कक्षा एक यतिखेर खाली छ । त्यहाँ प्रारम्भिक बालविकास र पूर्व प्राथमिक कक्षाबाट विद्यार्थी आइपुगेका छैनन् । ८ कक्षासम्म पढाई हुने दार्चुलाको मालिकार्जुन सामुदायिक विद्यालयका शिक्षक विरेन्द्र दंगाले विद्यालयमा भर्ना भइनसकेकाले समस्या भएको बताउनुभयो ।
देशभर ३५ हजार ९ सय ९३ प्रारम्भिक बालविकास र पूर्व प्राथमिक कक्षाबाट ९ लाख ९३ हजार ९ सय बालबालिका कक्षा १ प्रवेश गर्छन् । कक्षा एकमा भर्ना हुन ठीक्क परेका बालबालिकाका अविभावकले अर्को विद्यालय रोज्न नपाएको, कुन विद्यालयबाट पुस्तक पाउने र पढ्ने टुङगो नलागेकाले अन्यौल छ ।
अर्को विद्यालयमा भर्ना हुनुपर्ने तर भर्ना हुन नपाएका विद्यार्थीलाई पाठ्यपुस्तकको समस्या छ । तर पाठ्यक्रम विकास केन्द्रका निर्देशक गणेशप्रसाद भट्राई पाठ्यपुस्तक स्थानीय सरकारमा गइसकेको बताउनुहुन्छ ।
प्रविधिको पुहँचको आधारमा विद्यार्थीलाई ५ वर्गमा विभाजन गरी जारी गरिएको निर्देशिकाका आधारमा वैकल्पिक सिकाई शुरु गरिएको छ । एक अध्ययन अनुसार सामुदायिक विद्यालयका ५६ लाख र निजीका २५ लाख बालबालिका प्रविधीको पहुँच भन्दा बाहिर छन् ।

फेसबुकबाट तपाइको प्रतिक्रिया