काठमाडौं । सरकारले आंशिक रुपमा वैदेशिक रोजगारी खुल्ला गर्ने भएको छ । कोभिड-१९ संकट व्यवस्थापन केन्द्रको शुक्रबार बसेको बैठकले विदामा आएकाहरुलाई रोजगारीमा जान दिने निर्णय गरेको हो । श्रम,रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको सिफारिसमा जान दिने निर्णय गरिएको परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले बताए ।
सरकारले ३० फागुनदेखि श्रम स्वीकृति बन्द गरेको थियो । बैदेशिक रोजगारीमा रहेकाहरु विदामा घर आएका बेला नेपालमै रोकिएका छन् । उनीहरुले लामो समयदेखि विदेश जाने अनुमति मागिरहेका थिए ।
अब अहिले विदामा आएका र करार अवधि बाँकी रहेकाहरुलाई पठाउन मात्रै श्रम स्वीकृति दिने निर्णय भएको छ ।
विद्यार्थीहरुको हकमा शिक्षा मन्त्रालयको सिफारिसमा जान दिइनेछ । परराष्ट्रमन्त्रीका अनुसार भ्रमणमा गरेको कडाइ मात्रै खुला गरिएको बताए ।
बैठकले सम्बन्धित देशको सरकार र रोजगारदाता कम्पनीले खर्च नव्यहोर्नेहरुलाई उद्दार गर्ने गाइडलाइन बनाउन श्रम मन्त्रालयलाई निर्देशन दिएको छ । विदेशबाट ल्याइएका शव व्यवस्थनापनको जिम्मा पनि श्रमलाई दिइएको छ ।
संक्रमितको संख्या बढेसँगै नयाँ स्वास्थ्य सामग्री आपूर्तिका लागि स्वास्थ्य मन्त्रालयले पेश गरेको योजना स्वीकृत भएको छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया