कोरोना संक्रमिण उच्च विन्दुमा पुग्नसक्ने सरकारको विश्लेषण,तयारी तिव्र

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा कोरोना भाइरसले महामारीको रुप लिए आगामी भदौ पहिलो सातासम्म ३९ हजार संक्रमित हुनसक्ने आंकलन गरेको छ । साउन अन्तिम सातादेखि भदौको पहिलो साता कोरोना संक्रमिण उच्च विन्दुमा पुग्नसक्ने सरकारको विश्लेषण छ ।

त्यसबेला नेपालमा ३९ हजार संक्रमित हुनसक्ने विश्लेषण गरेर स्वास्थ्य सामाग्री र अस्पतालहरुको व्यवस्थापन गर्न लागिएको मन्त्रालयका अधिकारीहरुले बताएका छन् । सचिव र विभागीय प्रमुखसहित शनिबार सञ्चारकर्मीहरु छलफल गरेका स्वास्थ्यमन्त्री भानुभक्त ढकालले भने, विज्ञहरुको भनाइमा एकदमै खराब अवस्था आयो भने ३९ हजारसम्म पुग्नसक्छ भन्ने छ । कोरोना संक्रमितको संख्यालाई १५ हजारभित्र समिति राख्न सकिन्छ भन्ने राणनीति अनुसार काम गरेको भए पनि त्यो बढ्ने देखिएको उनले सुनाए ।

अहिले कोरोना पहिचान भएका अधिकांश कोरोना संक्रमित क्वारेन्टिनमा छन् । तर पछिल्लो समय क्वारेन्टिन स्थलहरु नै कोरोना सार्ने अखडा बन्न थालेको र त्यहाँ भएकाहरुलाई आरडीटी गरेर घर पठाउँदा संक्रमण समुदायमा पुग्नसक्ने खतरा कायमै छ । साथै ट्राभल हिस्टी नभएकाहरुमा पनि संक्रमण देखिन थालेको छ । साथै कतिपयमा मृत्यु भइसकेपछि मात्र कोरोना संक्रमण पुष्टि भएका छन् । त्यसैले कोरोना संक्रमणले कस्तो रुप लिन्छ अनुमान गर्न गाह्रो भएको जनस्वास्थ्यविज्ञहरु बताउँछन् ।

तर सरकारले भने भदौ पहिलो सातासम्म ३० हजारसम्म सङ्क्रमित हुने आंकलन गरेर पूर्व तयारी थालेको छ । मन्त्रालयका सहसचिव डा. गुणराज लोहनीका अनुसार त्यति संक्रमित हुँदा चाहिनसक्ने लगभग एक हजार भेन्टिलेटर र १८०० आईसीयू तयार छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया