काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको खाद्य पदार्थ सस्तोडील कम्पनीले उपत्यकाभित्र डेलिभरी चार्ज नलिई घरघरमा पुर्याउँदै आएको छ।
चक्रपथ बाहिर होम डेलिभरीका लागि खाद्यले सो कम्पनीसँग व्यापार साझेदारी गरी सेवा प्रवाह गरेको कम्पनीका प्रमुख कार्यकारी अधिकृत नेत्रप्रसाद सुवेदीले जानकारी दिनुभयो । उहाँका अनुसार उक्त कम्पनीले गत आइतबारदेखि निःशुल्क (डेलिभरी चार्ज नलिई) रुपमा खाद्य पदार्थको डेलिभरी गर्दै आएको छ।
“बन्दाबन्दीमा चक्रपथभित्र डेलिभरी गरिएको थियो, चक्रपथ बाहिर डेलिभरीको शुरुआती चरण हुँदा खासै अनलाइन अडर आएको छैन्”, उहाँले भन्नुभयो, “दिनमा पाँचदेखि १० स्थानबाट आएको अडर सस्तो डिलले डेलिभरी गर्दै आएको छ ।” बन्दाबन्दीको समयमा निःशुल्क रुपमा डेलिभरी र कम्पनीले खाद्य पदार्थ खरिदमा १० प्रतिशत छुट दिइएको छ।
उपभोक्ताले माग गरेको दुई दिनभित्रमा डेलिभरी गरिएको सस्तो डिलले जनाएको छ । नारायणस्थान, पेप्सीकोला, भक्तपुर, भैँसीपाटी, हात्तीवन लगायतका स्थानबाट आएको माग अनुसार हेलिभरी गरिएको सस्तो डिलका प्रमुख वाणिज्य आधिकृत (पिसिओ) अमीतेश राईले जानकारी दिनुभयो । उहाँका अनुसार खाद्यसँग सडक सुविधा भएका स्थानमा डेलिभरी गरिने गरी सम्झौता भएको छ ।
सस्तोडिलबाहेक खाद्यले हाम्रो किरानासँग पनि व्यवसायी साझेदारीको तयारी गरिएको प्रमुख कार्यकारी अधिकृत सुवेदीले जानकारी दिनुभयो । उहाँका अनुसार उपभोक्तालाई सहज र सुलभ रुपमा सेवा प्रवाह गर्न माग अनुसारका विभिन्न खाद्य पदार्थहरु बिस्तारै थप गर्दै लगिनेछ।
शुरुआती चरणमा चामल, दाल, केराउ र कर्णालीको सिमी अनलाइनमार्फत बिक्री गरिएकामा बिस्तारै विभिन्न कम्पनीसँगको समन्वयमा अन्य सामग्रीहरु थप गरिएको छ।
कम्पनीले गत आइतबारदेखि वाल्ट्रा कम्पनीको इन्फ्रारेड चुलो र जडीबुटी प्रशोधन कम्पनीसँगको सहकार्यमा सानिटाइजर बिक्रीमा राखेको छ।
बन्दाबन्दीमा कम्पनीसँग भएको चिनियाँ इन्फ्रारेड चुला सकिएपछि कम्पनीले वाल्ट्रा कम्पनीसँग समन्वय गरेर रु चार हजारमा चुलो बिक्रीमा राखेको छ । बजारमूल्यभन्दा सस्तोमा चुलो बिक्रीमा राखिएको उहाँले जानकारी दिनुभयो । यसैगरी खाद्यले साल्ट ट्रेडिङ लिमिटेडसँग समन्वय गरी गहुँको पीठो र आयो नून, डिडिसीसँग समन्वय गरी शुद्ध घ्यू बिक्री गर्दै आएको छ।
कम्पनीसँग भएको रञ्जित स्टिम चामल, सोना चामल, जापानिज चामल, कर्णालीमा उत्पादित सिमी, केराउ दाना, मुसुरो र रहरको दाल अनलाइनमार्फत बिक्री वितरण हुँदै आएको छ।
अनलाइन बिक्री वितरणबाहेक काठमाडौं उपत्यकाका बिक्री काउन्टर थापाथली, रामशाहपथ, नख्खु, लगनखेल र सूर्यविनायक गरी पाँच स्थानबाट सेवा प्रदान गर्दै आएको छ ।
प्रतिव्यक्ति रु दुई हजारदेखि पाँच हजारसम्मको खरीदमा १० प्रतिशत छुट दिँदै आएको छ।
अनलाइनमार्फत अडर गर्न नेपाल बैंक लिमिटेड र सेञ्चुरी बैंकको खल्ती वा ई–सेवामार्फत ‘ई–पेमेन्ट’ गरेर सामान माग गर्नसकिने व्यवस्था गरेको छ।

फेसबुकबाट तपाइको प्रतिक्रिया