सिन्धुपाल्चोक । मेलम्ची नगरपालिकाले कृषि तथा पशु विकास, पर्यटन साथै पूर्वाधारमा जोड दिइएको छ । मेलम्ची नगरपालिकाको आर्थिक वर्ष २०७७÷०७८ को नीति तथा कार्यक्रमका साथै बजेट मंगलबार पारित भएको छ ।
पशुलाई सुत्केरी भत्ता, शीतभण्डार निर्माण साथै तरकारी, फलफूल र खाद्यान्न उत्पादनमा जोड दिने कार्यक्रम प्रस्तुत गरिएको छ । मेलम्ची स्वप्न सरोवर निर्माणलाई बहुउद्देश्यीय आयोजनाका रुपमा अघि बढाइने गरी प्राथमिकतामा राखेको छ । नगरपालिकाको एकीकृत गुरुयोजनाका आधारमा पूर्वाधार विकासमा जोड दिइने नीति तथा कार्यक्रममा उल्लेख छ ।
नगर प्रमुख डम्बर अर्यालले प्रस्तुत गर्नुभएको आगामी आर्थिक वर्षका लागि तय गरिएका नीति तथा कार्यक्रम सर्वसम्मत पारित भएको छ । कोभिड १९ का कारण स्वदेश तथा विदेशमा रोजगारी गुमाई बसेका युवाहरुलाई आवश्यक सीप, तालिम र अनुदानको व्यवस्था गरी कृषि पेसामा संलग्न गराइने पनि कार्यक्रम रहेको छ ।
नगर उपप्रमुख भगवती नेपालले बजेट वक्तव्यमा संक्रामक रोग, प्रकोप र विपद्बाट जीवन रक्षा गर्दै जनजीवनलाई सुरक्षित बनाउने, विकास गतिलाई तीव्रता दिने, नागरिकका मौलिक हक, अधिकारका रुपमा रहेका आवश्यकता परिपूर्ति गर्ने, पूर्वाधार विकासमार्फत नागरिकको जीवनस्तर उकास्दै आयका अवसरहरु वृद्धि गर्ने उल्लेख गर्नुभएको छ । उपप्रमुख नेपालले कोभिड १९ लगायत सबै प्रकारका स्वास्थ्य विपद् जोखिमबाट नगरवासीलाई सुरक्षित राखी गुणस्तरीय सेवाको स्तरोन्नति तथा क्षमता विस्तार गर्ने, वर्तमान अवस्थाले शिथिल भएको अर्थतन्त्रलाई क्रमशः पुनर्उत्थान गर्दै लैजाने पनि उल्लेख गर्नुभएको छ ।
आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमहरु कार्यान्वयन गर्नका लागि रु.१ अर्ब १३ करोड ३७ लाख २६ हजार ४ सय ५८ विनियोजन गरिएको छ । कोरोना भाइरस संक्रमण रोकथामका लागि छुट्टै रु ५ करोड १० लाख र स्वास्थ्यसम्बन्धी अन्य कार्यक्रमका लागि ८ करोड ८४ लाख विनियोजन गरिएको छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया