चितवन । जननेता मदन भण्डारीको ६९औँ जन्मजयन्तीका अवसरमा शालिक अनावरण गरिएको छ । भरतपुर महानगरपालिका वडा नं १७ गाजीपुरमा आयोजित कार्यक्रममा वाग्मती प्रदेशका भूमि व्यवस्था,कृषि तथा सहकारीमन्त्री दावादोर्जे लामाले आज शालिक अनावरण गर्नुभएको हो ।
मदन भण्डारी फाउण्डेशन चितवनको आयोजना र मदनस्मृति पार्क गाजीपुरको सहआयोजनामा आयोजित कार्यक्रममा मन्त्री लामाले मदन भण्डारीको विचारलाई लिएर अगाडि बढेकै कारण आज देशका तीनै तहमा कम्युनिष्टको सरकार रहेको बताउनुभयो । मदन भण्डारीको शव प्राप्त भएको स्थान गाजीपुरको विकासका लागि बजेटको अभाव नहुने बताउँदै उहाँले स्थानीयले दृढतापूर्वक मिलेर काम गर्नुपर्ने बताउनुभयो ।
उहाँले भन्नुभयो, “यहाँको विकास गर्नका लागि बजेटको अभाव हुन दिदैनौँ, तपाईहरु सबै मिलेर दृढतापूर्वक काम गर्नुहोस् ।” भूमिसम्बन्धी समस्या समाधान आयोगका अध्यक्ष एवं नेकपाका केन्द्रीय सदस्य देवी ज्ञवालीले मदन भण्डारीको विचारलाई शब्दमा नभएर व्यवहारमा उतार्नुपर्ने बताउनुभयो । देशका १३ लाख परिवारको भूमिसम्बन्धी समस्या रहेको बताउँदै उहाँले आयोगले तोकिएको समयभित्र काम पूरा गर्ने बताउनुभयो । कार्यक्रममा वाग्मती प्रदेशका मुख्यमन्त्रीका राजनीतिक सल्लाहकार जेएन थपलियाले गाजीपुर क्षेत्रको विकासका लागि प्रदेश सरकार लागिपरेको बताउनुभयो । उहाँले विगतमा के भयो भन्ने कुरा बिर्सेर विकास निर्माणमा सबै हातेमालो गरेर अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो । नेकपा नेता हरि सापकोटा, प्रदेशसभा सदस्य कृष्णप्रसाद भुर्तेल, भरतपुर– १७ का वडाध्यक्ष ललितमान तामाङ, मदनस्मृति पार्कका अध्यक्ष गौरस तामाङ, टोकमान गुरुङलगायतले बोल्नुभएको थियो । सो अवसरमा मदन भण्डारीको शव प्राप्त गर्ने, शव नदीबाट बाहिर ल्याउन सहयोग गर्ने, पार्क निर्माणमा सहयोग गर्ने, शालिक सौन्जन्य गर्ने व्यक्ति तथा संस्थालाई सम्मान गरिएको थियो । शालिक सौजन्य गर्नुहुने स्व तुलसीप्रसाद श्रेष्ठलाई मरणोपरान्त सम्मान गरिएको थियो ।
यसैगरी हेमबहादुर थापा, कृष्णराज ठकुरी, टेकबहादुर आले, श्यामबहादुर थापामगर, टोकमान गुरुङ, धावा तामाङलाई सम्मान गरिएको थियो । पार्क निर्माणमा सहयोग गरेबापत सघन शहरी तथा भवन निर्माण आयोजना भरतपुरलाई पनि सम्मान गरिएको थियो । गाजीपुरमा रु ७५ लाखको लागतमा दृश्यावलोकन स्तम्भ निर्माण गरिएको छ भने नेपाल सरकारको रु ५० लाख र रु १० लाख बराबरको जनश्रमदान गरी २८० मिटर फुटपाथमा मोज्याक टाइल लगाउने, चौतारी व्यवस्थापन, कार्य भइरहेको छ । सोही ठाउँमा मदन भण्डारीको अर्धकदको शालिक निर्माण गरिएको छ ।
विसं २०५० जेठ ३ गते चितवनको दासढुङ्गामा रहस्यमय सवारी दुर्घटनामा परी तत्कालीन नेकपा एमालेका महासचिव भण्डारी र सङ्गठन विभाग प्रमुख जीवराज आश्रितको निधन भएको थियो । आश्रितको शव दासढुङ्गास्थित नारायणी नदीमा नै भेटिएको थियो भने भण्डारीको शव गाजीपुरमा भेटिएको थियो ।

फेसबुकबाट तपाइको प्रतिक्रिया