काठमाडौं । बिहीबारबाट बन्द रहेका भारतीय न्यूज च्यानलहरु सञ्चालनमा आएका छन् । केबल अपरेटरहरुले चारवटा भारतीय न्यूज च्यानलबाहेक अन्यको प्रसारण खुलाएका हुन् ।
आइतबार बसेको केवल अपरेटरहरुको बैठकले आजतक, जी न्यूज, इन्डिया टिभी, एबिपी न्यूज च्यानलाई बन्द नै राखेर अरुलाई खोल्ने निर्णय गरेको हो ।
केही च्यानलका कारण सबै च्यानहरु बन्द गर्नु उपयुक्त नहुने भन्दै चारवटा बाहेकका भारतीय समाचार च्यानलहरु सञ्चालन थालिएको हो ।
निर्णय भएसँगै आइतबार रातिदेखिनै अन्य च्यानलहरुको प्रशारण जारी रहेको छ ।
विदेशी च्यानल वितरक मल्टि सिस्टम अपरेटर ९एमएसओ०हरुले बिहीबार साँझदेखि दूरदर्शनबाहेक सबै भारतीय न्यूज च्यानलको प्रसारण रोकेका थिए ।
भारतीय टेलिभिजन च्यानलहरुले नेपालका बारेमा अतिरञ्जित र अनर्गल प्रचार गर्दै आएको भन्दै बिरोध भएको थियो । पछिल्लो समय प्रधानमन्त्री केपी शर्मा तथा चिनियाँ राजदूत होउ यान्छीको नाम जोडेर आपत्तिजनक समाचारहरु प्रसारण गरेपछि ती च्यानलहरु नेपालमा बन्द गरिएको थियो ।
नेपालले कालापानी, लिपुलेक र लिम्पियाधुरालाई समेटेर राजनीतिक तथा प्रशासनिक नक्सा जारी गर्ने निर्णय र त्यसपछि जारी नै गरेपछि भारतीय सञ्चारमाध्यमहरु एकतर्फीरुपमा तथ्यहीन, अनर्गल र कपोलकल्पित समाचारहरु प्रसारण गरिरहेका थिए ।
भारतीय न्यूज च्यानलहरु बन्द भएपछि केहीले यसको विरोधसमेत गरेका थिए । सूचना र अभिव्यक्ति स्वतन्त्रतालाई कुण्ठित गर्न खोजिएको भन्दै उनीहरुले विरोध गरेका थिए ।

फेसबुकबाट तपाइको प्रतिक्रिया