युवालाई उद्यमशील बनाउन द्विपक्षीय समझदारी पत्रमा हस्ताक्षर

काठमाडौँ : राष्ट्रिय युवा परिषद र प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम केन्द्र बिच मागमा आधारित छोटो अवधिको सीपमूलक तालिम मार्फत् उत्पादनशील जनशक्ति तयार गरी उद्यमशीलता विकास र रोजगारी सिर्जनामा सहयोग पुर्याउने उद्देश्यले द्विपक्षीय समझदारी पत्रमा हस्ताक्षर सम्पन्न भएको छ ।
राष्ट्रिय योजना आयोगको सभाहल सिंहदरबार काठमाडौंमा गरिएको एक कार्यक्रमका बीच परिषद र प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम केन्द्र बिच समझदारी पत्रमा हस्ताक्षर सम्पन्न भएको परिषदका सूचना अधिकारी तथा उपसचिब ध्रुवराज पौडेलले जानकारी गराउनुभयो । समझदारी पत्रमा सिटिईभिटिका तर्फबाट उपाध्यक्ष खगेन्द्रप्रसाद अधिकारी र राष्ट्रिय युवा परिषदका तर्फबाट कार्यकारी उपाध्यक्ष माधवप्रसाद ढुङ्गेलले हस्ताक्षर गर्नुभएको थियो ।

राष्ट्रिय योजना आयोगका माननीय उपाध्यक्ष प्रा.डा.पुष्पराज कंडेल तथा साम्सदहरुको उपस्थितिमा उक्त समझदारी पत्रमा हस्ताक्षर भएको हो । कार्यक्रममा आफ्नो धारणा राख्दै राष्ट्रिय युवा परिषदका कार्यकारी उपाध्यक्ष ढुङ्गेलले यस समझदारीबाट नेपाली युवाहरुको चाहना र आवश्यकता एवं श्रम बजारको माग बमोजिम सीप विकासका लागि उपयुक्त युवाहरुको छनौट गर्ने ती युवाहरुलाई गुणस्तररीय सीपमूलक तालिम प्रदान गरी सीप परीक्षण र स्तरीकरण गरी प्रमाणीकरण गर्ने र तालिम प्राप्त युवाहरुलाई उद्यम एवं रोजगारीका लागि आबश्यक सहजीकरण गर्न यस समझदारी पछि थप सहज हुने बताउदै सुखि नेपाली सम्बृद्ध नेपाल अभियानमा युवाहरुको महत्वपूर्ण भुमिका रहने कुरा बताउनुभयो ।
त्यसैगरी तालिम केन्द्रका उपाध्यक्ष खगेन्द्रप्रसाद अधिकारीले राष्ट्रिय युवा परिषदसंगको सहकार्यले राम्रो प्रयासको थालनि भएको र यसले युवा लक्षित तालिम आयोजना मार्फत रोजगारी सिर्जना र उद्यमशीलता बिकासमा महत्वपूर्ण भुमिका खेल्ने बिश्वास लिएको बताउनु भयो ।

फेसबुकबाट तपाइको प्रतिक्रिया