अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनताको प्रत्यक्ष सरोकार हुने नीजि क्षेत्रको भ्रष्टाचार हेर्न पाउनुपर्ने बताएको छ ।
सबै नीति क्षेत्रको नभएर जनताको प्रत्यक्ष सरोकार रहने क्षेत्रमा हुने भ्रष्टाचारको विषय आयोगले हेर्न पाउनुपर्ने आयोगका पदाधिकारीहरुको भनाई छ । आइतबार संसदीय समितिमा भएको छलफलमा आयोगका प्रमुख आयुक्त नवीन घिमिरेले साना र ठूला मापन नगरी भ्रष्टाचारीलाई कारवाही गर्ने गरिएको बताएका छन् ।
स्थानीय तहका जनप्रनिधिहरुको सम्पत्ति छानबिनमा आयोग सक्रिय रहेको बताउँदै उनले उपभोक्ता समितिले ठेक्का लगाएर काम गराउने प्रवृतिले पनि भ्रष्टाचार बढाएको बताए ।
आयोगको वार्षिक प्रतिवेदनमाथिको छलफलमा सांसदहरुले राजनीतिक दलहरुबाट पदाधिकारी नियुक्त हुने परिपाटीले भ्रष्टाचार बढेको बताएका छन् । सांसद विजय सुब्बाले राजनीतिक दलका नेताहरुको दबाब र पदाधिकारी नियुक्तमा दलिय भागवण्डा हुने परिपाटी बन्द भए भ्रष्टाचार कम हुने बताए ।
अर्का सांसद जनार्दन शर्माले शक्तिको केन्द्र रहने ठाउँमा नै बढी भ्रष्टाचार हुने गरेको बताए ।
आयोगको प्रतिवेदन अनुसार गत आर्थिक वर्षमा स्थानीय तहहरुमा सबैभन्दा बढी भ्रष्टाचारका उजुरी परेका छन् ।

फेसबुकबाट तपाइको प्रतिक्रिया