काठमाडौं ।संसदकोे विकास तथा प्रविधि समितिले राष्ट्रिय सूचना आयोगको वार्षिक प्रतिवेदन संसदमा पेश गरी छलफल गर्ने नीतिगत व्यवस्था गर्न सरकारलाई निर्देशन दिएको छ ।
समितिको मंगलबारको बैठकले आयोगको वार्षिक प्रतिवेदन संसदमा छलफल गर्ने नीतिगत व्यवस्था गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई निर्देशन दिएको हो ।
समितिका सभापति कल्याणी कुमारी खडकाले आयोगले तयार गरेको वार्षिक प्रतिवेदन प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा पेश हुने गरेको तर त्यसमाथि कुनै छलफल नभएकोले संसदमा पेश गरी छलफल गर्ने नीतिगत व्यवस्था मिलाउन निर्देशन दिएको बताईन् ।
समितिले सार्वजनिक तथा निजी क्षेत्रका सबै निकायले सूचना अधिकारी तोकि कार्यसम्पादनलाई तीनतीन महिनामा प्रकाशन गर्ने व्यवस्था मिलाउन र सूचना सार्वजनिक नगर्ने निकायलाई तत्काल कानूनी कारबाही गरी १५ दिन भित्र समितिलाई जानकारी गराउन राष्ट्रिय सूचना आयोगलाई निर्देशन दिएको छ ।
यस्तै, राष्ट्रिय सूचना आयोगले पछिल्लो १४ वर्षमा सूचना नदिने २४ जना कार्यालय प्रमुखलाई कारबाही गरेको छ ।
सांसदहरुले सबै नागरिकलाई सूचनाको हक स्थापित गर्न र त्यसका लागि राष्ट्रिय सूचना आयोगको पहुँच स्थानीय तहसम्म पु¥याउनुपर्ने बताएका छन् । सबै प्रदेशमा आयोगको कार्यालय खोल्न समेत सांसदशरुले सुझाव दिएका छन् ।

फेसबुकबाट तपाइको प्रतिक्रिया