वर्षाका कारण कैलालीका एक सय बढी घर डुबानमा

धनगढी । गएरातिदेखिको बर्षापछि कैलालीको धनगढी डुवानमा परेको छ । धनगढी उप–महानगरपालिकाको बजार क्षेत्रकै वडामा डुवान भएको हो ।

हुलाकी राजमार्ग वरीपरीका घर तथा पसलमा पानी पसेको स्थानीय वासिन्दाले बताएका छन्। यस्तै वडा नम्वर ३ मा पनि दर्जर्नाै घरमा पानी पसेको छ । धनगढीमा सरकारी निकायकै संलग्नतामा खोलानालामाथि अतिक्रमण भएपछि डुवानको समस्या बढ्दै गएको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार देशभर मनसुनी वायुको प्रभाव रहेकाले सुदूरपश्चिमका अधिकांश क्षेत्रमा वर्षा भइरहेको छ । सुदूरपश्चिम प्रदेशका नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा भूक्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढल र पानीको राम्रो निकास नभएको ठाउँमा डुबानसमेत हुनसक्ने भएकाले आवश्यक सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।

अहिले कैलालीको टिकापुर, चिसापानीलगायत कैलाली र कञ्चनपुरको धेरै ठाउँमा भारी वर्षा भइरहेको र थप वर्षा हुने देखिएकाले कान्द्रा, मोहना, घुराहा, खुटिया, स्याउली, चौधरलगायतका नदीमा बाढी आउने खतरा भएको विभागले जानकारी दिएको छ ।

कान्द्रा, काडा र पथरैया नदीमा पानीको बहाव बढेपछि कैलालीको भजनी र जोशीपुरका विभिन्न बस्ती डुबानमा परेका हुन् ।

फेसबुकबाट तपाइको प्रतिक्रिया