लिदी पहिरोका विस्थापितलाई स्थानान्तरण शुरु,९८ थान टेन्ट गाउँपालिकालाई हस्तान्तरण

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको जुगल–२ लिदी पहिराका विस्थापितलाई स्थानान्तरण कार्य थालिएको छ ।

विस्थापितहरुलाई जुगल गाउँपालिकाकै वडा नं १ सेलाङको बाँसखर्कमा सार्ने तयारी गरिएको हो । हाल पहिलो चरणमा सबैलाई टेन्टमा राख्ने गरी तयारी भइरहेको गाउँपालिका अध्यक्ष होमनारायण श्रेष्ठले बताए। सबै परिवारलाई टेन्टमा राख्ने गरी आवश्यक सामग्री आज ढुवानी गरिएको र बस्ती स्थानान्तरणका लागि विभिन्न जिम्मेवारी छुट्याइएको उनको भनाइृ छ । जसअनुसार जिल्ला विपद् व्यवस्थापन समितिले आवश्यक टेन्ट उपलब्ध गराउने निर्णयबमोजिम आजै ९८ थान टेन्ट गाउँपालिकालाई हस्तान्तरण गरिएको छ ।

गाउँपालिका कार्यालयले बाँसखर्कमा रहेको खुला क्षेत्रमा जग्गा सम्याउने, शिविर व्यवस्थापन गर्ने तथा सडक पूर्वाधारको व्यवस्थापन गर्नेछ । जिल्ला आयोजना कार्यान्वयन एकाइले आवास व्यवस्थापन र डिभिजन खानेपानी कार्यालयले खानेपानीको व्यवस्थापन मिलाउने छ भने जिल्ला स्वास्थ्य कार्यालयले स्वास्थ्य सेवाको प्रबन्ध मिलाउने छ । रेडक्रसले शौचालय व्यवस्थापनको जिम्मा लिएको छ ।

आइतबार विहानैबाट नेपाली सेना, सशस्त्र प्रहरी र जनपथ प्रहरी खटिएर टेन्ट जडान तथा सुरक्षाको प्रबन्ध मिलाउने श्रेष्ठले बताए ।

गत साउन ३० गते बिहान गएको पहिरोमा परेर ३९ जना हराएकोमा ३२ जानको शव भेटिएको छ भने अझै ७ जना बेपत्ता छन् । पहिरोले १३ घर पूर्ण रुपमा पुरिएका छन् । ३७ घरलाई आंशिक क्षति पुगेको छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया