कोरोना संक्रमित भक्तपुरकी ६२ वर्षीया महिलाको मृत्यु,नागरिक अस्पताल बन्द

भक्तपुर । कोरोना संक्रमणका कारण भक्तपुरमा एक महिलाको मृत्यु भएको छ ।

गठ्ठाघरस्थित नागरिक कम्युनिटी अस्पतालमा उपचारको लागि ल्याएकी स्थानीय ६२ वर्षीया एक महिलाको गएराति मृत्यु भएको प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले जानकारी दिइन् ।

उच्च रक्तचापको बिरामी रहेको महिलामा कोरोना सङ्क्रमण पुष्टि भएको बताउँदै उनले आज वीर दल गण सूर्यविनायकको टोलीले शवको व्यवस्थापन गर्ने जानकारी दिइन् । आजै मृतक परिवारको कन्ट्याक्क ट्रेसिङ गरी स्वाब सङ्कलन गरी पीसीआर परीक्षण गरिने उनले बताइन् ।

अस्पतालका निर्देशक जितेन्द्र श्रेष्ठले दम, उच्च रक्तचापलगायत समस्याका कारण उपचारका लागि नागरिक अस्पताल आएकी महिलाको अस्पताल ल्याउँदा मृत्यु भइसकेको बताए ।

भक्तपुरमा यसअघि कोरोना भाइरस सङ्क्रमणबाट भक्तपुर स्थानीय दुईजनाको मृत्यु भएको थियो । गत शनिबार सूर्यविनायक निवासी ७२ वर्षीय पुरुषको उपचारकै क्रममा काठमाडौँको मेडिकेयर अस्पतालमा मृत्यु भएको थियोे भने सूर्यविनायक नपा १ सिरुटार निवासी ६८ वर्षीया एक महिलाको उपचारको क्रममा पाटन अस्पतालमा मृत्यु भएको थियो ।

आइतबार पनि शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा मिर्गौलाका बिरामी बुटवल उपमहानगरपालिका–११ घर भएका कोरोना सङ्क्रमित ५४ वर्षीय पुरुषको मृत्यु भएको थियो । अहिलेसम्म भक्तपुरमा स्थानीयको तीनको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ ।

अहिलेसम्म भक्तपृुरमा ३७५ जनामा कोरोना भाइरस सङ्क्रमण भएको छ भने मध्यपुरथिमि नगरपालिकमा समुदायस्तर मै भाइरस फैलिएको पाइएको छ । अहिलेसम्म सबभन्दा बढी मध्यपुरथिमि नगरपालिकामा १५६, भक्तपुर नगरपालिकामा ६२ जना, सूर्यविनायक नगरपालिकामा ९४ जना र चाँगुनारायण नगरपालिकामा भने स्थानीय १९ जना र शसस्त्र प्रहरी गण दुवाकोटका २० शसस्त्र प्रहरीसहित ३९ मा सङ्क्रमित रहेका छन् ।

फेसबुकबाट तपाइको प्रतिक्रिया