घुम्थाङमा गएको पहिरोमा परी मृत्यु हुनेको संख्या ९ पुग्यो,२२ अझै बेपत्ता

बाह्रबिसे : सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका –७ घुम्थाङमा पहिरोमा परी मृत्यु हुनेको संख्या ९ पुगेको छ । इलाका प्रहरी कार्यालय बाह्रबिसेका प्रहरी निरीक्षक नवराज न्यौपानका अनुसार अरु २२ जना अझै बेपत्ता छन् ।

उनका अनुसार पहिरोमा ज्यान गुमाउनेमा नागपुजे गाउँका ६३ वर्षीया भक्तिमाया श्रेष्ठ, ९८ वर्षीय ट्याक्से शेर्पा, ४२ वर्षीया ज्ञानीमाया प्रधान, भिरखर्क बिक टोलका २३ वर्षीय जुनु बिक, २४ वर्षीय सुकुलाल बिक, आठ वर्षीय सन्देश बिक तथा नेवार टोलका ६० वर्षीया सर्किनी नेवार, ६५ वर्षीय धनलाल नेवार र ४२ वर्षीया हीरामाया श्रेष्ठ रहेका छन् । क्षतिको विवरण सङ्कलन भइरहेको छ । भिरखर्क पहिरामा बेपत्तामध्ये पाँच जनाको जीवित नै उद्धार गरिएको छ । पुरिएको अवस्थामा फेला परेका उनीहरुको प्राथमिक स्वास्थ्य केन्द्र बाह्रबिसेमा उपचार भइरहेकोे छ । यसैबिच, पहिरो प्रभावित क्षेत्रको स्थलगत निरीक्षणमा पुग्नुभएका सभामुख अग्निप्रसाद सापकोटाले प्रभावितलाई तत्काल सहयोग हुने जानकारी दिए । उनले भौगोलिक अध्ययन गराएर यहाँको बस्ती सार्नु पर्ने÷नपर्ने विषयमा राष्ट्रियस्तरमै पहल गर्ने प्रतिबद्धता समेत जनाएका छन् ।

गएराति भारी वर्षासँगै गएको पहिरोले बाह्रबिसे नगरपालिका–७ मा पर्ने घुम्थाङको नागपुजे, भिरखर्क र नेवार टोलमा घरहरु पुरेको छ । पहिराका कारण १९ घर पुरिनाका साथै २ सय २२ घर उच्च जोखिममा रहेको जनाइएको छ ।

सिन्धुपाल्चोक जिल्लासहित देशका विभिन्न स्थानमा  केही महिनादेखि पहिरोबाट निरन्तर रुपमा धनजनको क्षति भइरहेको छ ।

 

फेसबुकबाट तपाइको प्रतिक्रिया