मकवानपुर । कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले लागू गरेको लकडाउनका कारण लामो समय बन्द रहेको हेटौंडा औद्योगिक क्षेत्रका सबै उद्योगहरू सञ्चालनमा आएका छन् ।
औद्योगिक क्षेत्रमा रहेका १ सय ११ मध्ये सम्पूर्ण उद्योग सञ्चालनमा आएको हेटौंडा औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको कार्यालयले जनाएको छ ।
लकडाउनका कारण अत्यावश्यक उद्योगमा बिस्कुट, चाउचाउ, बेकरी, खानेपानी, दाना र दुग्ध पदार्थबाहेक अन्य उद्योग बन्द भएको थियो तर अहिले उद्योगहरु सञ्चालनमा आए पनि पूर्ण क्षमतामा सञ्चालनमा आउन नसकेको बताइएको छ । अत्यावश्यक खाद्यपदार्थ उद्योग ८० प्रतिशत क्षमतामा र अन्य रासायनिक, निर्माण सामग्री, मेशिनरी र प्लास्टिकलगायत उद्योग ५० प्रतिशत क्षमतामा सञ्चालनमा रहेको सो कार्यालयले जनाएको छ ।
कार्यालयका अनुसार औद्योगिक क्षेत्रमा सञ्चालित उद्योगबाट प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा करिब १० हजार ५०० जनाले रोजगारी पाएका छन् ।
विसं २०२० मङ्सिर २० गते स्थापना भएको सो औद्योगिक क्षेत्रमा अहिले विभिन्न नयाँ उद्योग स्थापना गर्न करिब एक हजार ८८५ रोपनी जग्गाको छुट्टै व्यवस्थापन गरिएको बताइएको छ । सो औद्योगिक क्षेत्रमा निजी क्षेत्रको झन्डै रु पाँच अर्ब ५० करोड लगानी रहेको छ भने सरकारी लगानी रु ९० करोड रहेको कार्यालयले जनाएको छ ।
उक्त औद्योगिक क्षेत्रबाट गुणस्तरीय उत्पादित विद्युतीय सामग्री, खाद्यान्नलगायत अन्य सामग्री अन्तर्राष्ट्रिय बजारमा पु¥याइ विदेशी मुद्रा आर्जन गर्ने गरेको मकवानपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष कृष्ण कटुवालले जानकारी दिए ।

फेसबुकबाट तपाइको प्रतिक्रिया