वाङथलीमा छ्योर्तेनको ह्राप्ने सम्पन्न,पर्यटकीय स्थल बन्दै चौरी देउराली

काभ्रे । काभ्रेपलाञ्चोक जिल्लाको कोशीपारी चौरी देउराली गाउँपालिका वडा नं.१ स्थित सानो वाङथलीमा नव निर्मित बोधि चैत्य (ज्याङ छ्युब छ्योर्तेन) को ह्राप्ने (प्राण प्रतिष्ठा) गरिएको छ ।

समाजसेवी टेक राज मोक्तानले संचालन गर्नुभएको कार्यक्रममा उपस्थित अतिथिहरुलाई बौद्ध स्तुपा पार्क निर्माण समितिको अध्यक्ष पासाङ तामाङले स्वागत गर्नु भएको थियो ।

बौद्ध परम्पराअनुसार देवातरण दिवस ल्हापब दुइजेनको अवसर पारी उक्त छ्योर्तेनको उद्घाटन गरिएको हो । भगवान बुद्धले देवलोकमा रहनुभएका आफ्नो मातालाई धार्मिक प्रवचन दिएर मनुष्य लोकमा आएको समयलाई देवातरण ल्हापब दुइजेन भनिन्छ । यही देवातरणको समयमा पुर्णिमा, औंशी, दशमी र अष्टमी जस्ता तिथि पारेर निराहार ङ्युने ब्रत बस्ने परम्परा रहेको छ। यो ब्रत बस्नाले मन तथा आत्मा, वचन र शरीर शुद्ध हुने तथा दुर्गतीको पापवाट मुक्ति मिल्ने, नर्क लोक, प्रेत लोक र पशु लोकको दुःखवाट मुक्ति पाउने विश्वास रही आएको छ । पछिल्लो समयमा बौद्ध धर्मवालम्वीहरुमा आएको धार्मिक चेतनाका कारण यो ब्रत बस्नेहरुको संख्या प्रत्येक वर्ष वृद्धि हुंदै गएको देखिन्छ।

१३ औं औतारी धर्म गुरु गा.लखाङ रिन्पोक्षेको बहुल्यमा प्राण प्रतिष्ठान गरिएको छ्योर्तेनको  उद्घाटन बाग्मती प्रदेशका सांसद रत्न ढकालले  गर्नुभएको थियो । नव निर्मित छ्योर्तेन पर्यटकिय दृष्टिकोणले प्रमुख पर्यटकीय गन्तव्य बन्न सक्ने बताउँदै सांसद ढकालले आयातित धर्म मान्य नहुने भएकाले सम्पूर्णलाई धर्म परिवर्तन नगर्न अनुरोध समेत गर्नुभयो । साथै उहाँले उक्त छ्योर्तेन चौंरीदेउरालीकै नमुना धार्मिकस्थल भएको समेत बताउनुभयो ।

त्यसैगरी, गाउँपालिका प्रमुख दिननाथ गौतमले वाङथलीबाट मनोरम प्राकितिक दृश्यहरु हेर्न सकिने भएकाले पनि यस क्षेत्रलाई पर्यटकीय स्थलका रुपमा घोषणा गरेको बताउनुभयो । वाङथली गाउँपालिकाको प्रमुख पर्यटकिय गन्तव्य भएकाले पर्यटन विकासमा वडा ,गाउँपालिका, प्रदेश सरकार, केन्द्रिय सरकारको समेत सहयोग र सहकार्य रहदै आएको गौतमले बताउनुभयो ।

कार्यक्रममा पूर्व सभासद् रेनुका चौलागाई, नेकपाको युवा नेता दिपक गौतम लगाएतले गाउँपालिकाको विकास र छ्योर्तेन निर्माणले गाउँपालिकाको सौन्दर्य र पर्यटकिय क्षेत्रमा ठुलो टेवा पुग्ने बताउनुभएको थियो ।

सानोवाङथलीका वडाअध्यक्ष राजु आले तामाङले करिब ३० फिट आग्लो उक्त छ्योर्तेन १६ लाख ५० हजारमा निर्माण सम्पन्न भएको जानकारी दिनुभयो ।

विश्वमा महामारीका रुपमा फैलिएको कोरोना भाईरसबाट आफु पनि बाँचौ र अरुलाई पनि बचाऔ भन्ने उद्देश्यको साथ समाजसेवी मोक्तानले सानो वाङथलीको जनताको लागि कोरोना स्वास्थ्य सुरक्षा सामाग्री वडाअध्यक्ष तामाङलाई हस्तान्तरण गर्नुभएको थियो ।

पि.पि.ई., थर्मोल गन , फेसशिल , सेनिटाइजर , सर्जिकल माक्स , लगाएत सामाग्रीहरु सिन्धुपाल्चोक लिसाङ्खु पाखर स्थाई घर भई हाल अमेरिका बस्नुहुने सोनी लामा तामाङ र नाग्रे गगर्चे सम्पति बस्ने सागर मोक्तान , रुपा लामाले सहयोग गर्नुभएकोले सहयोगीमनहरुलाई धन्यवाद व्यक्त गर्दै समाजसेवी एवम् तामाङ बौद्ध महासंघका महासचिव मोक्तानले बाँकीमा पनि छिट्टै नै स्वास्थ्य सुरक्षा सामाग्री वितरण गरिने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।

बौद्ध स्तुप्पा पार्क निर्माण समितिको आयोजना तथा सानो बाङ्गथली वडा नं.१ का वडा कार्यलयको संयोजनमा सम्पन्न भएको कार्यक्रममा प्राण प्रतिष्ठान पूजासंगै बुद्ध वचन पाठ र वाङ प्रसाद ग्रहण गरिएको थियो।

साथै कार्यक्रममा विभिन्न सहयोगीहरुलाई कदर पत्रबाट सम्मान समेत गरिएको थियो । उक्त कार्यक्रममा गाउँपालिकाका उपप्रमुख ,चौरीदेउराली गाउँपालिकाको सबै वडाका अध्यक्षहरु, विभिन्न राजनीतिक प्रतिनिधिहरु, समाजसेवीहरु, बौद्ध धर्म वलम्बीहरु लगायत अन्य समुदायहरुको उपस्थिती रहेको थियो।

वाङथली कला संस्कृति मात्र नभएर वन, पैदावर वन्य जन्तु साथै हिमालका दृश्य अवलोकन गर्नका लागि समेत महत्वपुर्ण रहँदै आएको छ । वाङथलीको पर्यटन पूर्वाधार विकाशका लागि हाल मात्र १७ किलोमिटर नयाँ पदमार्ग समेत सम्पन भएको छ । साथै प्रदेश सरकारको सहकार्यमा लाउँरेदेउरालीमा पिकनीक स्पोर्ट निर्माण सम्पन भएको छ ।

नेपाल सरकारले सन २०२० लाई भ्रमण वर्षकारूपमा मनाउने तयारी गरिरहेको वेलामा कोरोनाका कारण सिर्जित परिस्थितिले सबै कार्यक्रम स्थगित भएतापनि यस गाउँपालिकाभित्र रहेका पर्यटकीय क्षेत्रको पहिचान गरी धेरैभन्दा धेरै पर्यटक भित्र्याउन सबैलाई पर्यटकीय स्थलहरूको प्रचारप्रसार गरेर विदेशी पर्यटकहरू भित्र्याउन सके काम गर्न कै लागि खाडी मुलुकमा दास बन्नुपर्ने अवस्था कम हुने थियो ।

त्यसैले,चौरी देउराली गाउँपालिकामा पर्यटनको सम्भावना हुँदाहुँदै पनि प्रचारप्रसारको अभावका कारण आन्तरिक तथा वाहृय पर्यटक भित्रिन नसकेकाले अबका दिनमा प्रवद्र्धन र प्रचारप्रसार गर्नसके केही हदसम्म पर्यटकहरू भित्रिए गाउँपालिकाको आर्थिक उन्नतिमा टेवा पुग्ने देखिन्छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया